१९ भाद्र २०८३, शुक्रबार
Follow Us

एनआरएनएद्वारा क्रियामा बसेका बाढीपीडित परिवारलाई राहत वितरण

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८३, शुक्रबार १८:२९

लण्डन । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान नवौँ दिन पनि निरन्तर जारी रहेको छ।

बाढी प्रभावित परिवारहरूको स्वास्थ्य आवश्यकतालाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना तथा मेट्रो अस्पतालको सहकार्यमा, नुवाकोटको बाघटारस्थित त्रिशूली प्रादेशिक अस्पतालको समन्वयमा स्टार स्कुलमा बाढी प्रभावितका लागि स्थापना गरिएको होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। एनआरएनएका ग्लोबल हेल्थ कमिटीकी सह-अध्यक्ष प्रसुना कँडेल र पूर्व ग्लोबल हेल्थ कमिटी अध्यक्ष तथा आईसीसी सदस्य डा. सञ्जीव सापकोटाको नेतृत्वमा सञ्चालित शिविरमा करिब ८० जना बाढी प्रभावित बालबालिका, महिला लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा मेट्रो अस्पतालका डा. अशोक कार्की, म्यानेजिङ डाइरेक्टर केशव राज खनाल, अस्पताल व्यवस्थापन तथा मानसिक स्वास्थ्य परामर्शदाता फपेन्द्र न्यौपाने र स्टाफ नर्स संगिता रिजाल सहभागी थिए। बाढी प्रभावितहरूलाई आवश्यक औषधिसमेत उपलब्ध गराइएको थियो। स्वास्थ्य शिविरमा विशेषगरी दीर्घरोगसम्बन्धी समस्या बढी देखिएको थियो भने ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या तथा संक्रामक रोगसँग सम्बन्धित लक्षण भएका बिरामीहरू पनि भेटिएका थिए।

नुवाकोटको तुप्चे, त्रिशूली बजार लगायतका विभिन्न बाढी प्रभावित क्षेत्रको अवस्था तथा स्थानीय आवश्यकताबारे जानकारी लिन गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोज गोर्खाली लगायतको टोलीले आज स्थलगत अवलोकन गरेको छ। टोलीले बाढी प्रभावित, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था, तत्कालका आवश्यकता तथा राहतका प्राथमिकताबारे जानकारी लिएको थियो। साथै, तत्काल गर्न सकिने राहत तथा मानवीय सहयोगका विषयमा समेत स्थानीयसँग कुराकानी गरिएको थियो। टोलीले बाढीबाट प्रभावित परिवारहरूको वास्तविक अवस्था र आवश्यकताबारे जानकारी संकलन गर्दै सोही आधारमा राहत तथा मानवीय सहयोगलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा आवश्यक छलफल गरेको हो।

स्वास्थ्य सेवा सहज रूपमा सञ्चालन गर्न तथा विद्युत् आपूर्ति अवरुद्ध हुँदा जेनेरेटर सञ्चालनका लागि आवश्यक इन्धनको पूर्ति गर्न नुवाकोटस्थित त्रिशूली अस्पताललाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट ४०० लिटर डिजेल उपलब्ध गराइएको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोज कुमार श्रेष्ठले त्रिशूली अस्पतालका निमित्त अस्पताल निर्देशक डा. राजेन्द्र लामालाई उक्त डिजेल हस्तान्तरण गर्नुभएको हो।

विनाशकारी बाढीका कारण आफन्त गुमाई काठमाडौंमा आएर पशुपतिस्थित क्रियापुत्री घरमा काजक्रिया गरिरहेका रसुवाको उत्तरगया गाउँपालिकाका प्रभावित परिवारलाई एनआरएनएले आवश्यक राहत सामग्री उपलब्ध गराएको छ। महासचिव डा. चिरञ्जीवी खड्का, महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) र महिला संयोजक रश्मि थापाले क्रियापुत्री घरमा रहेका परिवारको आवश्यकतालाई ध्यानमा राख्दै ब्ल्याङ्केट, ग्यास चुलो, खाद्यान्न, फलफूल, घिउ लगायतका सामग्री हस्तान्तरण गर्नुभएको हो।

राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूबाट बाढी प्रभावितका लागि सहयोग आउने क्रम जारी छ। सहयोग रकम संकलनलाई थप प्रभावकारी बनाउन विभिन्न एनसीसी तथा सम्बन्धित पक्षसँग आज पनि थप संवाद गरिएको छ। सो क्रममा बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलनमा भइरहेको पहल तथा प्रगतिबारे जानकारी लिँदै थप सहयोग जुटाउन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई अनुरोध गरिएको छ।

धेरै पढिएको