काठमाडौं — रसुवाको भोटेकोशी खोलामा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सहयोग संकलन गरेको छ।
नेपाली कांग्रेस पार्टीले बाढीपीडितका लागि नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरेपछि नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आफ्ना सदस्य तथा शुभेच्छुकहरूबाट सहयोग संकलन अभियान सञ्चालन गरेको जनाएको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्रोतबाट सहयोग रकम संकलन गरिएको छ। विवरणमा एनपीसीसी सिड्नीबाट रु. ६ लाख, साउथ अष्ट्रेलिया (एडिलेड) बाट रु. ५९,०७५, एसिटी (क्यानबेरा) बाट रु. ५२,४६९ तथा वेस्टर्न अष्ट्रेलिया (पर्थ) बाट रु. ५४,०५० सहयोग प्राप्त भएको उल्लेख छ।
समितिले बाढीपहिरोबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
पत्रमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति सुरेश नर्सिङ गुरुङ, महामन्त्री रोहित खड्का तथा संयोजक सितल गिरीको हस्ताक्षर रहेको छ।
