काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुने अधिकारबाट कुनै पनि नेतालाई वञ्चित नगरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताएका हुन् ।
उनले पार्टीको महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने बताए । असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने उनको भनाइ छ । ‘असोज ४ गतेबाट हाम्रो अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ र १६ गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ । समयमा महाधिवेशन सम्पन्न गर्छौँ’, थापाले भने ।
महाधिवेशनमा सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र नेतृत्वका लागि प्रतिस्पर्धा हुने उनले बताए । ‘सबै साथीहरूले महाधिवेशनमा भाग लिनुहुन्छ । कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित गरिएको छैन । सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ र महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ’, उनले भने ।
प्रतिस्पर्धाबाट नेतृत्वमा जिम्मेवारी पाउने र जिम्मेवारी नपाउने नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा थापाले जोड दिए । महाधिवेशनले पार्टीभित्रका विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको उनले बताए ।
‘महाधिवेशनले अहिले पार्टीभित्रको कुरा मात्रै मिलाउँछ । नागरिकसँगको विश्वास पुनःस्थापित गर्नुपर्नेछ । त्यो विश्वास पुनःस्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ’, उनले भने । महाधिवेशन सम्पन्न भएपछि कांग्रेसले देशव्यापी अभियान सञ्चालन गर्ने पनि थापाले बताए । त्यसक्रममा ७७ वटै जिल्लामा पुगेर गाउँगाउँसम्म जाने र नागरिकसँगको सम्बन्ध पुनःस्थापित गर्ने उनको भनाइ छ ।
‘महाधिवेशन सम्पन्न गर्नासाथै हामी देशभरि जानुपर्नेछ । ७७ जिल्ला पुग्छौँ, देशभरि जान्छौँ, गाउँगाउँ जान्छौँ’, थापाले भने ।