खेल

दशौं राष्ट्रिय खेलकुद: १२ स्वर्णसहित एनआरएन टोली दोस्रो स्थानमा

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।

बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो। दोस्रो स्थानमा रहेको एनआरएन टोलीले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदक जितेको छ।

नेपाल आर्मी क्लबले ७ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लबले ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो स्थान प्राप्त गरेको छ। कोशी प्रदेशले ३ स्वर्ण जित्दै पाँचौं तथा सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौं स्थान हासिल गरेका छन्।

प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश र महिलातर्फ एनआरएन टोली च्याम्पियन बनेका छन्।

प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन्। नेपाली पौडीमा एउटै इभेन्टमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गर्नु आफैंमा नयाँ कीर्तिमान हो।

यसअघि उक्त इभेन्टमा अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। रजत पदक जितेका आर्मीका सौरेनबहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड तथा कांस्य पदक विजेता आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डको समय निकाले।

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै पुलिसका काल्किन श्रेष्ठले ९ मिनेट ०३.२१ सेकेन्डको समयसहित स्वर्ण पदक जिते। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिली बोहराले २ मिनेट ३३.२० सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन्। यसअघि उक्त इभेन्टको कीर्तिमान डुआना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्ड थियो। आर्मीकी डुआनाले २ मिनेट ३९.९४ सेकेन्डसहित रजत तथा पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डसहित कांस्य पदक जितिन्।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डसहित रजत तथा एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डसहित कांस्य पदक जितिन्।

पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डको समयसहित स्वर्ण जिते। पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डसहित रजत तथा पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डसहित कांस्य पदक हात पारे।

महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डसहित स्वर्ण जितिन्। एनआरएनकी लिली बोहराले १ मिनेट २२.५५ सेकेन्डसहित रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डसहित कांस्य पदक जितिन्।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डसहित स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डसहित रजत तथा बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डसहित कांस्य पदक जिते।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डसहित स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डसहित रजत तथा बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डसहित कांस्य पदक जितिन्।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले स्वर्ण जिते। उनले २४.६२ सेकेन्डको समय निकाले। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डसहित रजत तथा आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डसहित कांस्य पदक जिते।

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डसहित रजत तथा पुलिसले ४ मिनेट ४४.४० सेकेन्डसहित कांस्य पदक जिते।

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डसहित स्वर्ण जित्यो। पुलिसले १ मिनेट ४४.२६ सेकेन्डसहित रजत तथा आर्मीले १ मिनेट ४४.४७ सेकेन्डसहित कांस्य पदक जिते।

महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा पनि बागमतीले स्वर्ण जित्यो। बागमतीले २ मिनेट १६.०१ सेकेन्डको समय निकाल्दा पुलिसले २ मिनेट १९.७६ सेकेन्डसहित रजत तथा आर्मीले २ मिनेट २०.०१ सेकेन्डसहित कांस्य पदक जिते।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता