२६ भाद्र २०८३, शुक्रबार
Follow Us

राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाबारे छानबिन हुँदैछ: स्वास्थ्यमन्त्री

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०८३, शुक्रबार ११:०२

काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन ।

आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा बोल्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गरिने पनि बताएकी छन ।

उनले भनिन्, ‘घटना सार्वजनिक भएपछि मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले स्पष्टीकरण पेस गरिसकेको र घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयका प्रतिनिधिसहितको पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ ।’ घटनाबारे जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको पनि बताइन् ।

घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन अघि बढाइएको पनि बताइन् । मन्त्रालयलाई घटना थाहा हुनासाथ आमा र नवजात शिशुको खोजी गरी अस्पतालमा ल्याएर उपचार गर्न निर्देशन दिएको बताइन् ।

निर्देशनपछि दुवैलाई अस्पतालमा ल्याई भर्ना गरेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा स्याहार भइरहेको बताइन्।

धेरै पढिएको