देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई अहिलेको अवस्थाबाट पार लगाउन आन्दोलनका लागि तयार हुनुपर्ने बताए । आन्दोलनबाट भाग्न खोजे र आन्दोलन गर्ने आँट नगरे देशको रक्षा गर्न नसकिने उनको दाबी छ ।
‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलन सुन्नै नहुने, टक्टक्याउने खालको मनस्थिति पनि नबनाऔँ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ,’ उनले भने ।
अध्यक्ष ओलीले अहिलेको असहज परिस्थितिमा आन्दोलनबाहेक अन्य बाटोबाट अघि बढ्न खोजे सफल हुन नसकिने बताए । आन्दोलनले नै शक्ति आर्जन गर्ने, अघि बढाउने र जिताउने उनको भनाइ छ ।
‘यति असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलनबाहेक अर्को कुराबाट हामी जान खोज्यौँ भने, आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो,’ उनले भने ।
अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरे पनि व्यवहारमा नेपाली जनतालाई धोका दिइरहेको आरोप लगाए । त्यस्ता शक्तिहरूले मानिसको ज्यान जाने षड्यन्त्र गर्ने र त्यसैलाई हतियार बनाएर आगजनी, लुटपाट, तोडफोड तथा आतंक फैलाउने गरेको उनको आरोप छ ।
‘अब दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र, शान्ति भनेर घाँटीका नसा फुलिन्जेल कराउँछन्, दुनियाँलाई धोका दिन्छन् तर व्यवहार कस्तो गर्छन् भने मान्छे मराउने षड्यन्त्र गर्दछन् । त्यो मराएकोलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, ध्वस्त बनाउने, कुटपिट गर्ने, आतंक फैलाउने षड्यन्त्र गर्दछन्,’ उनले भने ।
अध्यक्ष ओलीले देशमा मानिसहरूले स्वतन्त्र रूपमा बोल्नसमेत नसक्ने गरी आतंकको वातावरण सिर्जना गरिएको आरोप लगाए । बोल्नेबित्तिकै पक्राउ पुर्जी जारी गर्ने, गिरफ्तार गर्ने तथा अन्य कारबाही गर्ने अवस्था रहेको उनको भनाइ छ ।
सरकार बलजफ्ती अघि बढिरहेको आरोप लगाउँदै उनले नेपाल प्रहरीले बिनाबर्दी पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रहरीको यस्तो शैली उचित नभएको उनको तर्क छ ।
‘कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतंकको राज सिर्जना गरेको छ । बोल्यो कि त पुर्जी, बोल्यो कि त गिरफ्तारी, बोल्यो कि त बिना बहिष्कार । पुलिससँग ड्रेस छैन ? ड्रेस नलगाएर आवारा हो पुलिस ? गुण्डा हो पुलिस ? बिनाबर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने ? गुण्डा हो कि को हो ? बलजफ्ती गरेर ढोका फोरेर भित्र पस्छ,’ उनले भने ।
अध्यक्ष ओलीले सरकार ‘फाँसीवाद’ तर्फ बेलगाम अघि बढिरहेको आरोपसमेत लगाए । राज्य नै स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको उनको भनाइ छ । यस्तो अवस्थामा पार्टी आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।
‘एनार्किस्ट राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ । यस्तो अवस्थामा सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको अवस्थामा हामी छौँ । हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन,’ उनले भने ।
अध्यक्ष ओलीले तत्कालै वा तिहार तथा छठपछि आन्दोलन गर्नुपर्ने अवस्था आए पनि पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिए । आन्दोलनका लागि भित्रभित्रै तयारी गर्नुपर्ने उनको भनाइ छ ।
उनले आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेविरुद्ध पराजित गर्ने प्रयास भइरहेको आरोप लगाए । आगामी निर्वाचनबाट त्यस्ता प्रयासलाई असफल बनाउनुपर्ने उनले बताए ।
‘अहिले, भरे, भोलि, तिहारपछि, छठपछि होस् कि तर हामी तयारी मानसिक रूपमा हुनुपर्छ । भित्रभित्रै तयारी रूपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवास्वप्नमा परिणत गरिदिनुपर्छ,’ उनले भने ।
अध्यक्ष ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेबिनाको देश बनाउने योजनालाई दिवास्वप्नमा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

