मुख्य समाचार

कालिगण्डकीले बगाएका युवा मृत भेटिए

पाल्पा—कालीगण्डकी नदीको राम्दीबाट हराएका युवाको शव सोमबार फेला परेको छ। बिहीबार राम्दी नदीमा नुहाउने क्रममा बेपत्ता बनेका बगनासकाली गाउँपालिका–२, पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहाको शव रम्भा गाउँपालिकाको हुँगीस्थित असर्दीमा भेटिएको राम्दी प्रहरी चौकीले बताएको छ।

उनी बिहीबार हजुरआमाको दाहसंस्कार गरी नुहाउने क्रममा गाहा नदीमा बेपत्ता भएका थिए।

राम्दी प्रहरी चौकी र स्थानीय बासिन्दाले नदी आसपासको क्षेत्रमा व्यापकरुपमा खोजी कार्य गरिरहेको भएपनि फेला पार्न सकेको थिएन । मलामी गएका बेला राम्दीस्थित नदीमा बेपत्ता बनेका गाहाको मृत्युले गाउँ अझै शोकमा डुबेको छ।

नदी किनारामा कपडा र मोबाइल राखेर नुहाउन गएका उनी हराएपछि प्रहरीलाई मलामीले खबर गरेका थिए ।

कालीगण्डकी नदीमा नुहाउने क्रममा बगाएर ज्यान गुमाउनेको संख्या अझै रोकिएको छैन। दाहसंस्कार गर्ने उपयुक्त क्षेत्रको अभावमा नुहाउन गएकाहरु मृत्युको मुखमा पुग्न बाध्य छन्।

–  नागरिक न्युजबाट ।

About the author
nepalbritain news

nepalbritain news