मुख्य समाचार

धादिङ नुवाकोट समाज यूकेद्वारा नेपाल आइडल सम्मानित

लन्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका नेपाल आइडल बुद्ध लामा, फष्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, टप ७ प्रमिला राई लन्डनमा सम्मानित भएका छन् । धादिङ नुवाकोट समाज यूकेले उनीहरुलाई हिजो मंगलबार सम्मान गरेको हो । संस्थाका अध्यक्ष चोकबहादुर तामाङले खादा र नेपाली टोपी पहिराइ उनीहरुलाई सम्मान गरे । कार्यक्रममा संस्थाले सबै प्रतिभालाई नेपाली झण्डा (ब्याच) लगाई नेपालको शिर उच्च राख्नु भन्दा हल स्तब्ध भएको थियो । प्रथम नेपाल आइडल बुद्ध लामा धादिङको अति विकट साबिक लापा गाबिस (हालको रुबी भ्याली गाउंपालिका) मा जन्मेका हुन् ।

अध्यक्ष तामाङले नेपाल आइडल प्रतिभाहरुले नेपाली सांगीतिक आकाशमा थप उज्यालो छरेको जनाउंदै उनीहरुको सांगीतिक यात्राले भविष्यमा अझ शिखर चुमोस् भन्ने कामना गरे । उनले नेपाल र नेपालीको शिर सधैं ठाडो राख्न सफल होस् भन्ने शुभेक्षा दिन कार्यक्रम गरिएको जनाए ।

संस्थाका महासचिव धनबहादुर पाख्रिनले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका सल्लाहकारहरु रामशरण सिम्खडा, गोपी मान बज्राचार्य, चक्र बहादुर भण्डारी, समाजसेवी चित्र बहादुर गुरुङ, ध्रुब केसी, नेपाल आइडल लाइभ इन यूकेका एकजना आयोजक राजाराम गिरी लगायतको उपस्थिति थियो ।
nepal-idol1
समाचारमा प्रयोग भएका समाचार शिव भण्डारीका हुन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्