३० भाद्र २०८२, सोमबार
Follow Us

संगीतकार चन्द्रराज शर्माको निधन

nepalbritain news
६ पुष २०७४, बिहीबार ०४:४६

काठमाडौं । संगीतकार चन्द्रराज शर्माको बिहीबार विहान निधन भएको छ । पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’का संगीतकार शर्मा उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ११ बजेदेखि १ बजेसम्म पशुपति आर्यघाटमा राखिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

शर्माले चलचित्र कुमारीमा शिवशंकर मानन्धरसँग संयुक्त संगीत दिएका थिए । चलचित्र कुमारीको मनमा माया तनमा माया बोलको गीत निकै चर्चित छ ।

यसैगरी लक्ष्मण लोहनीको शब्द र नारायण गोपालको स्वरमा रहेको ‘म मरे पनि मलाई मेरो देशको माया छ’, सुदेशराज शर्माले गाएको ‘हामी नदीका दुई किनारा हाम्रो संगम असम्भव छ’ बोलको कालजयी गीतका संगीतकार पनि चन्द्रराज शर्मा नै हुन् ।

‘श्री स्वस्थानी र ‘महाकवि देवकोटा’ मा पनि संगीत निर्देशन गरेका छन् उनले । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य सांस्कृतिक संस्थानमा महाप्रवन्धक हुँदा शर्माले त्यहाँ प्रदर्शित नाटक ‘नाम नभएको मान्छे र क्रशमा टाँगिएको जिन्दगी’ मा संगीत दिएका थिए ।

समिक्षक एवं लेखक प्रकाश सायमीका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटा गीति नाटक ‘मुनामदन’मा पनि उनले संगीत दिएका थिए ।
उनको संगीतमा माणिकरत्न, तारादेवी, तोरणमुनि बज्राचार्य, सुदेशराज शर्मा आदिले गाएका छन् । उनले पछिल्लो पटक महाकवि देवकोटाको गीति नाटक कुञ्जिनीमा पनि संगीत दिएका थिए ।

सुनौला घाम झुल्केन, आँखाहरुले रुन नखोजे (कुमारी), चपला अबला एक सूरमा (भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु (जीवनज्योति), ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन), तिम्रो आकाशमा जून (मीरा राणा), तिमी आफूलाई (माणिकरत्न), मोतिका दाना (सुदेश शर्मा र संगीता राणा प्रधान) लगायत उनका चर्चित गीत हुन् ।

वरिष्ठ संगीतकार यज्ञराज शर्माका माहिला छोरा शर्माका दुई छोरा र एक श्रीमती छन् ।

– अनलाइन खबरबाट ।

धेरै पढिएको