१४ असार २०८३, आईतवार
Follow Us

अझै नागरिकता पाएनन् चेपाङले

nepalbritain news
१४ कार्तिक २०७५, बुधबार ०६:१५

मकवानपुर — उमेरले ७५ वर्ष पार गरिसकेकी छन् । अहिलेसम्म नागरिकता बनेको छैन ।

७ छोराछोरीकी आमा र ३६ वटा नातिनातिनाका हजुरआमा बनिसकेकी कैलाश गाउँपालिका—७ डोकाटारकी मइतीमाया चेपाङ हालसम्म नागरिकताविहीन छिन् ।

नागरिकताको प्रमाणापत्र लिन उनले २ पटक हेटांैडा धाइन् तर कागजपत्र पुर्‍याउन नसकेपछि रित्तो हात फर्किन् । हेटौंडामा जाँदा पनि उनले कुखुरा बेचेर खर्चको जोहो गरेर गएकी थिइन् । तर नागरिकता पाउन भने सकिनन् । यो चार वर्षअघिको प्रयास हो । त्यसपछि उनले नागरिकता लिने कोसिस नै गरेकी छैनन् ।

Yamaha

उनको मात्र होइन, श्रीमान्को पनि नागरिकता छैन । श्रीमान् पनि ७६ वर्ष भइसके । मइतीमाया दम्पती नागरिकताविहीन छन् । चारवटी छोरी विवाह गरेर गइसके । छोराहरू अलग बस्छन् । छोराछोरीले नागरिकता बनाए कि बनाएनन् मइतीमायालाई जानकारी छैन ।

‘आफ्नो बूढाबूढीको नागरिकता छैन,’ मइतीमायाले ढाँड सोज्याउँदै भनिन्, ‘नागरिकता भएको भए बुढेसकालमा भत्ता आउँदो रहेछ, हाम्रो नागरिकता नै छैन ।’

मिस नेपाल २०१८ की शृंखला खतिवडाले कैलाश गाउँपालिका—७ ताम्लाङमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन मइतीमाया आएकी थिइन् । कुप्रो पर्दै एक घण्टा हिँडेर उनी स्वास्थ्य शिविरमा आएकी थिइन् । लामो समयदेखि ढाड दुखेर उनी कुप्रो परेर हिँड्ने गरेकी छन् । उक्त शिविरमा आएकी ७३ वर्षीया फूलमाया चेपाङ पनि नागरिकताविहीन छिन् । राक्सिराङ गाउँपालिका—४ जोङसिंराङकी फूलमाया ७/८ वर्षअघि नागरिकता लिन हेटौंडा गएकी थिइन् । ‘कागजपत्र मिलेन भनेर फिर्ता पठायो,’ फूलमायाले भनिन्, ‘त्यसपछि नागरिकता लिन गएको छैन ।’

‘हेटौंडामा नागरिकता लिन जान लागि एक हजार रुपैयाँभन्दा बढी खर्च लाग्छ, कसरी जानु ?’ उनले थपिन् । श्वासप्रश्वास रोगबाट ग्रसित ८ छोराछोरीकी आमा फूलमाया लठ्ठीको सहारामा शिविरमा आएकी थिइन् । उनलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्दै वृद्धभत्ता पाउनुभएको होला भनेर सोधेका थिए । त्यति बेला उनले नागरिकता नभएकाले वृद्धभत्ता पाएको छैन भनेर जवाफ दिइन् । फूलमायाका पतिको पनि नागरिकता छैन । पतिको उमेर पनि ७४ कटिसकेको छ ।

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने दुई कैलाश र राक्सिराङ गाउँपालिकाको अधिकांश दुर्गम बस्तीका चेपाङ समुदाय नागरिकताविहीन छन् । ‘कैलाश गाउँपालिकामा पर्ने साविकको भार्ता, कालिकाटार, नामटार, डाँडाखर्क, गोगने गाविसमा बसोबास गर्ने चेपाङ समुदायमध्ये ३५ प्रतिशत नागरिकताविहीन छन् । ‘यस गाउँपालिकाको दुर्गम बस्तीमा बस्ने चेपाङ समुदाय नागरिकताविहीन छन्,’ गापा अध्यक्ष टंकबहादुर मोक्तानले भने, ‘विशेषगरी ५० वर्षमाथि उमेरका चेपाङहरू नागरिकताविहीन छन् ।’ नागरिकता नभएकाले अधिकांश वृद्धवृद्धा चेपाङहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुँदै आएका छन् । उनीहरू अत्यन्त विपन्न छन् तर राज्यले दिएको सामाजिक सुरक्षा भत्ता पनि उनीहरूले पाउन सकेका छैनन् ।

कैलाश गाउँपालिकामा बसोबास गर्ने चेपाङहरू मात्र नागरिकताविहीन भएका होइनन्, उक्त गापासँग जोडिएको राक्सिराङ गाउँपालिकाका चेपाङको अवस्था पनि उस्तै छ । राक्सिराङ गाउँपालिकामा पर्ने साविकको खैराङ, काँकडा, सरिखेत, राक्सिराङ गाविसमा बसोबास गर्ने चेपाङहरू अझै पनि नागरिकताविहीन छन । ‘यो गाउँपालिकामा ४० प्रतिशतभन्दा बढी चेपाङहरू नागरिकताविहीन छन्,’ गापाका अध्यक्ष राजकुमार मल्लले भने, ‘विदेश जानुपर्‍यो भने मात्र नागरिकता बनाउने गर्छन्, नत्र नागरिकता बनाउँदैनन् ।’

मकवानपुरको चेपाङ बाहुल्य कैलाश र राक्सिराङ गाउँपालिका हुन् । दुवै गाउँपालिकाका अध्यक्षले दुर्गम गाउँमा नागरिकता वितरण गर्ने घुम्ती शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका समक्ष माग गरेका छन् । प्रजिअ आशमान तामाङले गापाहरूको सहयोगमा दुर्गम बस्तीहरूमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गर्ने बताएका छन् ।
कान्तिपुर

धेरै पढिएको