ताजा खबर

पशुपति शर्माको गीतबारे विवेकशील साझा युवा संगठनले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं– लोकप्रिय गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत प्रकाशन प्रशारणबाट हटाउन बाध्य पारिएको भन्दै विवेकशील साझा युवा संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार एक विज्ञप्तिमार्फत संगठनले नेपालको संविधानको धारा १७ को उपधारा २ (क) को बिचार र अभिब्यक्तिको हक, धारा १९ को उपधारा १ को संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘युवा जोस र सिर्जनात्मकतालाई सही ढंगले सदुपयोग गर्नु पर्नेमा देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र बेथितिमाथि कटाक्ष गरिएको गीत गाउने गायकलाई आक्रोसपूर्ण शैलीमा धाक धम्की मिश्रित शब्दहरुको प्रयोग गरी सत्तारूढ कम्युनिस्ट पार्टी निकट देखिने युवा संघ नेपालले आफ्नो फेसबुक पेजमा सन्देश प्रेषित गर्नु अत्यन्तै निन्दनिय छ।’

पछिल्लो समयमा देशमा सुशासन कायम गर्ने राज्यका जिम्मेवार निकायका अधिकारीहरु नै भ्रष्टाचारमा लागेका समाचारहरु सार्वजनिक हुनु, सत्तापक्ष र प्रतिपक्षबाट स्पष्ट राजनीतिक प्रतिबद्धता नआउनु र एकपछि अर्को अनियमितताका खबरहरु आउँदा पनि सरकारले त्यसका विरुद्ध स्पष्ट हस्तक्षेपकारी भूमिका नखेल्नु बिडम्बनापूर्ण भएको संगठनका संयोजक अब्दुस मिँयाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

About the author
nepalbritain news

nepalbritain news