काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । एक घन्टाभित्रैमा बैठक सकिएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।
आजको बैठकले पार्टीमा उत्पन्न संकटलाई बैठकको एजेण्डाको रुपमा तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रस्ताव र स्थायी कमिटीले पारित गरेको अन्तर पार्टी निर्देशिका सबै सचिवालय सदस्यलाई अध्ययनका लागि उपलब्ध गराइएको छ । उक्त दुईवटा दस्तावेज अध्ययन गर्नका लागि मंसिर ३ गते १ बजेसम्मका लागि समय उपलब्ध गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले बैठक बोलाउनका लागि दिएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको जवाफमा प्रचण्डले ओलीलाई दिएको पत्र पनि सचिवालय सदस्यलाई वितरण गरिएको छ । त्यस्तै यसअघिको स्थायी कमिटी बैठकको निर्णय अनुसार अन्तर पार्टी निर्देशनलगायतका विषयहरु पनि वितरण गरिएको श्रेष्ठले बताए ।