लन्डन । आफ्नो छोराको उपचारको लागि बेलायतको निजी भ्रमणमा आएकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ डा. आरजु राणा देउवाले नेपालमा छिट्टै चुनाव नभए संविधान असफल हुने खतरा रहेको बताउनुभएको छ।
सोमबार एनआरएन युकेद्वारा लण्डनमा आयोजित सम्मान तथा अन्तरकृया कार्यक्रममा बोल्दै श्रीमती देउवाले अहिले नेपालमा संविधानको कार्यान्वयन एउटा मुख्य चुनौती रहेको र त्यसकालागि चुनाव अत्यावश्यक रहेको बताउनुभयो।
“कैयौं मानिसहरु यो प्रकृयालाई उल्टाउन चाहिरहेका छन्। हामीले ‘पाण्डोराज बक्स’ खोलेका छौ। यसलाई कसरी बन्द गर्ने भन्ने मुख्य चुनौती छ,” उहाँले भन्नुभयो।
श्रीमती देउवाले राजनीतिी भनेको प्रकृया, धैर्य र भोट हो भन्नुहुँदै समाज परिवर्तन गर्न सत्तामा पुग्न आवश्यक हुने बताउनुभयो। तपाईू सत्तामा हुनुभएन भने तपाईंले परिवर्तन ल्याउन सक्नुहुन्न, तर त्यस्तो शक्ति वैध माध्यमबाट प्राप्त गरिनुपर्छ, उहाँले भन्नुभयो।
“मेरो श्रीमान (भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा) पार्टी सभापति बन्न २० वर्ष पर्खनु भयो। त्यसैले राजनीतिमा धैर्य चाहिन्छ,” उहाँले भन्नुभयो।
श्रीमती देउवाले नेपाली काँग्रेसले पहल नगरेको भए नयाँ संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान रहनेथिएन भन्नुहुँदै आफु व्यक्तिगतरुपमा दोहोरो नागरिकताको समर्थनमा रहेको पनि बताउनुभयो। तर कैयौं दलहरु एनआरएनहरुलाई राजनीतिक अधिकार बाहेकको नागरिकता दिने पक्षमा पनि नरहेको बताउँदै उहाँले संविधानमा लेखिएको कुरा कानुन नबन्दासम्म गैरआवासीय नेपालीहरु सजग र कृयाशील रहनुपर्ने बताउनुभयो। भूतपूर्व गोर्खा सैनिकहरुको जायज मागप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउँदै यो विषय द्वीपक्षीय कूटनीतिक माध्यमबाट समाधान हुनेप्रति आफु आशावादी रहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेको नेपाली समुदाय समृद्ध, सुसंस्कृत र सुपठित रहेको बताउँदै यहाँको नेपाली समुदायले नेपालबाट लिने भन्दा नेपाललाई बढी दिएको बताउनुभयो। उहाँले विश्वभरिका नेपालीहरुले बेलायतमा रहेका नेपाली समुदायबाट सिक्नसक्ने धारणा पनि राख्नु भयो।
गैरआवासीय नेपाली संघका युरोप संयोजक कुल आचार्यले देशबाहिर बसिरहेका गैरआवासीय नेपालीहरुले नेपालको अरु बढी माया गरिरहेको बताउँदै भूकम्प पछि संघले गोर्खाको लाप्राकमा भूकम्प पीडितहरुकालागि घर बनाइरहेको बताउनुभयो। विदेशमा सिकेको सीप र पुँजी नेपालमा लगानी गर्ने गैरआवासीय नेपाली संघको उद्देश्य रहेको बताउँदै उहाँले एक हजार जना गैरआवासीय नेपालीहरुले एक अर्ब रुपियाँको जम्मा गरी एनआरएन इन्भेस्टमेन्ट कम्पनी खडा गरेको बताउनुभयो। उहाँले सो कम्पनीले २७ मेगावाटको दोर्दीमा लगानी गर्नुकासाथै वित्तीय क्षेत्रमा पनि शेयरहरु खरीद गरेको बताउनुभयो। “एक पटककको नेपाली सँधैको नेपाली” भन्ने मूलमन्त्रलाई सार्थक पार्न पाइसकेको गैरआवासीय नेपालीहरुले नेपाली नागरिकता छोडनु पर्ने अवस्था नआओस् भन्नेतर्फ नेपाल सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।
गैरआवासीय नेपाली संघ आइसिसिका सल्लाहकार विश्वआदर्श पण्डितले सन् २००३ मा स्थापना भएदेखि नै नेपालका लागि नेपाली भन्ने नाराका साथ गैरआवासीय नेपाली संघले काम गरिरहेको भएतापनि अहिले केही राजनीतिक दलहरुले नै गैरआवासीय नेपालीहरुको विरुद्ध बोल्न थाल्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो। उहाँले एकजना गैरआवासीय नेपाली कानुन व्यवसायीले नेपालमा काम गर्न नदिने भनी फैसला सुनाइएको बताउँदै यस्ता कार्यकलापले आशंकाहरु जन्माएका छन् भन्नुभयो।
विदेशमा हुर्केका दोश्रो पुस्ताका नेपालीहरुसंग प्रशस्त क्षमता र स्रोतसाधनसम्म पहुँच पनि रहेको बताउँदै उहाँले उनीहरुको नेपालसंग भावनात्मक संबन्ध बनाइराख्नस अत्यन्त आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा एनआरएन युकेका उपाध्यक्ष हिराधन राईले शुभकामना व्यक्त गर्नुभएको थियो भने नेपाली जनसम्पर्क समिति युकेका सभापति लोक गुरुङले मन्तव्य दिनुभएको थियो। एनआरएन युकेका प्रवक्ता खुसी लिम्बुले सन्चालन गरेको कार्यक्रमको सभापतित्व एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङले गर्नुभएको थियो।



