३० पुष २०८२, बुधबार
Follow Us

प्रदेश–२ प्रमुखमा परियारलाई हटाएर झा नियुक्त, कांग्रेसको विरोध

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार ११:२७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुखबाट तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरेर झालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बकमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट प्रवक्ता जग्गनाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त झा रौतहटका हुन भने परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।

कांग्रेसको विरोध
सरकारको सिफारिसमा २ नं. प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गरेको छ । अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको आरोप कांग्रेसले लगाएको छ ।

सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

धेरै पढिएको