काठमाडौं । प्रतिनिधि सभाको पुनर्स्थापनापछि आज दोस्रो बैठक बस्दै छ। बैठक संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको हो । सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।
यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरी नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको थियो।
त्यस्तै प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए । बहिष्कार र अवरोधका कारण सभामुख अग्नि सापकोटाले बैठक मंगलबार फागुन २५ सम्मका लागि स्थगन गरेका थिए भने आजका लागि अर्को बैठक तोकेका थिए।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।