१८ बैशाख २०८१, मंगलवार
Follow Us

एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलमा राजेन्द्र राई चयन

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७८, सोमबार १५:३५

माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रदेश एक संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार विहान विराटनगरमा बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता छानेको हो । एकीकृत समाजवादीले दलको मान्यता पाएपछि बसेको संसदीय दलको पहिलो बैठकले राईलाई नेता चयन गरेको हो ।

प्रदेश एकमा एमालेका १० जना प्रदेश सभा सदस्यले समाजवादी पार्टी रोजेका थिए । संसदीय दलको नेता चयन भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री भीम आचार्यलाई आफ्नो समर्थन नभएको पत्र संसद सचिवालयले पठाउने तयारी गरेको छ । दश सांसदले एमाले छाडेपछि आचार्य अल्पमतमा छन । उनी एमाले विभाजित नहुँदाको अवस्थामा भदौ १० गते मुख्यमन्त्री बनेका थिए ।

उनले असोज नौ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एक नम्बर प्रदेशसभामा ९२ सदस्य छन् । सबैभन्दा ठुलो दल एमालको सभामुखसहित ४१ सांसद छन । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।