काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि रोल्पा क्षेत्रबाट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नाम एकल रूपमा उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
पार्टीकी रोल्पा इञ्चार्ज सम्झना घर्ती ‘असिना’ ले बुधबार बसेको पार्टी बैठकले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नाम मात्रै उम्मेदवारको रूपमा पठाउने निर्णय गरेको जानकारी दिइन् । विप्लवको जन्मथलो रोल्पा भएकाले उनकै नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
योसँगै पहिलो पटक निर्वाचन आयोगमा दर्ता भएको विप्लव नेतृत्वको नेकपा औपचारिक रूपमा निर्वाचनमा होमिने भएको छ ।
यसअघि भूमिगत राजनीतिमा रहेको यो पार्टी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सरकारसँग तीनबुँदे सहमति गरेर २०७७ फागुनमा शान्तिपूर्ण राजनीतिमा आएको थियो ।
विप्लव यसअघि माओवादी केन्द्रका संस्थापक नेता मोहन वैद्य ‘किरण’ सँग मिलेर पार्टी विभाजन गरेका थिए । तर, वैद्यले पनि क्रान्तिकारी लाइन अनुसार अगाडि नबढाएको भन्दै उनले पुनः विभाजन गरेर छुट्टै नेकपा गठन गरेका थिए । त्यसपछि केही वर्ष भूमिगत रहेर सैन्य संरचना निर्माणको प्रयास गरेका विप्लवमाथि राज्यबाट धरपकड तीव्र भएपछि शान्ति प्रक्रियामा जोडिएका थिए ।
शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले उत्पादन र कृषिमा जोड दिँदै आएका छन् । पार्टीले देशका विभिन्न ठाउँमा सामूहिक तथा सहकारी खेती गर्दै धान, आलु, फलफूललगायतका उत्पादन गरिरहेको छ ।