२३ माघ २०८२, शुक्रबार
Follow Us

सीता भण्डारी मृत्यु प्रकरण : श्रीमानको नाममा सुसाइड नोट

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७८, शनिबार ०७:४९

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै आत्महत्या गरेको दाबी गरेको हो ।

सीता २० भदौको बिहान साढे ४ बजे आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए । अनुसन्धानअनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुन्डिएर भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए ।

अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान् टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो । डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा ‘सुसाइड नोट’ लेखेको भेटिएको थापाले बताए ।

अनुसन्धानअनुसार आत्महत्या गर्नुअघि सीताले श्रीमानलाई रातको साढे १२ बजेतिर सुसाइड नोट लेखेको पाइएको छ । फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए ।

‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने ।

धेरै पढिएको