१६ बैशाख २०८१, आईतवार
Follow Us

बेलायतमा मनाइयो मुक्तक दिवस

नेपालब्रिटेन डट कम्
२१ माघ २०७८, शुक्रबार ०४:५५

लण्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले फेब्रुअरी १ तारिख मंगलबार मुक्तक वाचन कार्यक्रम गरि दोश्रो मुक्तक दिवस भब्यताका साथ मनाएको छ ।

शाखाका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलको अध्यक्षता तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा अनेसास यूकेकी अध्यक्ष लारा एबं साहित्य चौतारी यूकेका संयोजक वासु शर्मा विशेष अतिथी थिए ।

कुलपति ‘बिखर्ची’ ले शुभकामना मन्तब्यका क्रममा डायस्पोराको ब्यस्त जीवनमा पनि आफ्नो भाषा साहित्यको सेवामा लागि परेका सर्जकहरु पानी पिएर अमृत दिने विशिष्ट साधक भएकाले यस्तो सत्कर्म गर्ने संस्थाहरुसंग गण्डकी प्रज्ञा प्रतिष्ठान सदैव सहकार्य गर्न तत्पर रहेको जानकारी गराए।

वि.स. २०७० माघ १८ को पोखरा घोषणापत्र जारी भएर नेपाली मुक्तकले तुकबन्द चतुष्पदी रचना विधान जसमा पहिलो, दोश्रो र चौथो पदमा अन्त्यानुप्रास तर तेश्रो पद स्वतन्त्र रहने वाह्य संरचनाका साथै उत्तरोत्तर पदमा भावको गहिराई हुंदै अन्तिम पदमा रहस्यको पटाक्षेप गर्नुपर्ने आन्तरिक विधान अंगीकार गरेपछि मुक्तकमा विधा अत्यन्त लोकप्रिय बन्दै आयो र मुक्तकको मानक तयार भयो।

सोहि घोषणाले मुक्तकमा ऐतिहासिक परिवर्तन ल्याउन सफल दिनको सम्मानमा उक्त दिनलाई नेपाल मुक्तक प्रतिष्ठानले मुक्तक दिवसको रुपमा मान्ने निर्णय गरेको तथ्य प्रस्तुत गर्दै कार्यक्रम संयोजक डा. रुपक श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए । उनले प्रमुख अतिथी कुलपति सूर्य खड्का ‘बिखर्ची’ को परिचय पनि दिए ।

उपाध्यक्ष प्रतिमा प्रवासीद्वारा संचालित सो कार्यक्रममा रबिन्द्र जोशी, विनोद अधिकारी, राज श्रेष्ठ, कुमार केसी, सेमन्त राई, भरत लोहोरुङ राई, नानु राना, अहिल्या कुवंर, मोहन आचार्य ‘जलद’, लारा राई, वासु शर्मा, गंगा भण्डारी, रुपक श्रेष्ठ, सूर्य खड्का ‘बिखर्ची’, दुर्गा प्रसाद पोख्रेलले आ-आफ्ना मुक्तक वाचन गरे।