१५ बैशाख २०८१, शनिबार
Follow Us

बैतडीमा टिप्पर दुर्घटना : तीन विद्यार्थीसहित चार जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०७८, सोमबार १४:२३

बैतडी । बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ । पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । वडा नम्बर ३ कै १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमृत विष्ट, १३ वर्षीय सुदीप पन्त घाइते भएका छन् । टिप्परमा चालकसहित ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

साँघुरो सडकका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । टिप्पर सडकबाट करिब २ सय मिटर तल खसेको छ । चालक फरार रहेका छन् ।

घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीका अनुसार टिप्परलाई फर्काउने क्रममा दुर्घटना भएको बुझिएको छ । एउटै वडाका तीन जना विद्यार्थीको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ ।

बिहान पढ्न विद्यालय गएका छोराहरू घर नर्फिएपछि गाउँनै शोकमा डुबेको सिगास माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका डम्बरदत्त पन्तले बताए ।