१६ बैशाख २०८१, आईतवार
Follow Us

इन्स्पेक्टरको परीक्षामा ७५ जना माग्दा ६१ मात्र उत्तीर्ण

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७८, मंगलवार ०१:५७

सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नाको लिखित परीक्षामा मागभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । ७५ जनाका लागि खुलेको विज्ञापनको लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएका हुन् ।

परीक्षामा मधेसी समुदायबाट न्यून उत्तीर्ण भएका छन् । समावेशी आरक्षणको प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि नौजनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार अमर/असक्त प्रहरीका सन्तानका लागि एकजनाको कोटामा कोही पनि उत्तीर्ण हुन सकेनन् ।

लिखित परीक्षामा कुल तीन सय ७१ सहभागी भएका थिए । महिला, दलित र पिछडिएको क्षेत्रतर्फ मागबराबर मात्र उत्तीर्ण भएका छन् । महिलातर्फ सात, दलिततर्फ पाँच तथा पिछडिएको क्षेत्रतर्फ एकजनाको कोटा थियो । खुलातर्फ भने ४० जनाको माग भएकोमा ४९ जना उत्तीर्ण भए । समावेशी कोटामा नाम निकाल्ने केहीले खुलामा पनि निकालेका छन् ।

आदिवासी जनजातितर्फ ११ जनाको मागमा १४ जना उत्तीर्ण भएका छन् । समावेशी कोटा रिक्त रहेमा त्यसलाई खुलातर्फ जोडेर अन्तिम नतिजा प्रकाशन हुने प्रावधान छ । सशस्त्र प्रहरीको परीक्षामा विगतदेखि मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् ।