२१ बैशाख २०८१, शुक्रबार
Follow Us

क्रोएसिया, मौरिसस र सिसेल्सको श्रम स्वीकृति रोकिएकोप्रति एनआरएनएको आपत्ति

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७८, शनिबार १४:५८

सिसेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्रोएसिया र मौरिसस र सिसेल्सको श्रम स्वीकृति रोकिएका भन्दै आएको समाचारप्रति आपत्ति जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेसेल्स, क्रोएसिया र मौरिससको श्रम स्वीकृति रोकेको विभिन्न अनलाइनमा समाचार आएपछी ती देशमा कार्यरत नेपाली तरंगित बनेका छन् ।

रसिया–युक्रेन युद्धका कारण ती मुलुकमा असुरक्षा रहेको भन्दै श्रममन्त्री श्रेष्ठले श्रम स्वीकृति जारी नगर्न मौखिक आदेश दिएको र सहज हुनेबित्तिकै अर्को आदेश आएपछि फेरि बाटो खुल्छ भन्दै वैदेशिक रोजगार काठमाडौं कार्यालयकी निर्देशक सीता दुवाडीले एक अनलाइनलाई बताएपछि संघले यसलाई गम्भीर रुपमा लिएको हो ।

‘यता सेसेल्समा कार्यरत नेपाली श्रमिकहरु भने ‘रसिया–युक्रेन’ युद्धका कारण सेसेल्समा कुनै असर नपरेकोले सेसेल्सको श्रम स्वीकृति रोक्नुपर्ने कुनै आधिकारिक र तार्किक कारण नभएको बताउँछन्,’ संघका अध्यक्ष मनोज भन्छन् ‘विगतमा व्यक्तिगत श्रम स्वीकृति लिएर सहज अनि सुरक्षित आवतजावत गर्ने गरेका नेपाली श्रमिकहरुको चासो र गुनासोलाई गैर–आवासीय नेपाली संघ, सेसेल्सले गम्भीरतापूर्वक लिएकोछ ।’

यसका सम्बन्धमा एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिक तथा अफ्रिका क्षेत्रीय उप–संयोजक आरपी पन्तले श्रममन्त्रीको यस्तो निर्णयले धेरै नेपालीहरुलाई असर परेको भन्दै समाचार आएलगत्तै नेपालमा श्रम मन्त्रालय र नेपालका लागि सेसेल्सका बाणिज्य दूतको समेत ध्यानाकर्षण गराइसकेको बताएका छन् ।

बाणिज्यदूतले श्रम स्वीकृतिको प्रक्रियालाई अनलाइन प्रणाली मार्फत सहज बनाउनका निम्ति केहि दिन रोक्नुपरेको र छिटै सेवा सुचारु हुने आश्वासन दिएको पनि उनीहरुले बताए ।

स्मरण रहोस् गत मार्च १८ देखि २० सम्म मन्त्री श्रेष्ठले सेसेल्सको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा नेपालीहरुमाझ बोल्दै सेसेल्समा नेपालीहरुको बैदेशिक रोजगार सहज, सुरक्षित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, त्यसको केही सातापछि श्रममन्त्रीको मौखिक निर्देशनमा श्रम स्वीकृति रोकिएको भन्ने समाचारले आफुहरु दुःखी भएको पनि उनीहरुले बताएका छन् ।

नेपाली श्रमिकहरुका लागि सेसेल्सलाई सुरक्षित, भरपर्दो र आकर्षक गन्तव्यका रुपमा लिइएको पनि अध्यक्ष विकले बताए ।