९ जेष्ठ २०८१, बुधबार
Follow Us

गठबन्धनमा सहमति नभए एक्लै चुनाड लड्ने प्रचण्डको दाबी

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७९, सोमबार ०८:५९

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् ।

‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त माओवादीले पाउला,’ उनले भने, यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ।’

भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने प्रचण्डले जानकारी दिए । सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ । सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ उपहानगरमा भागबन्डामा सहमति जुटाउने प्रचण्डले जानकारी दिए ।

निर्वाचन सर्दैन, ३० वैशाखमै हुन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् । उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे । ‘निर्वाच सर्दैन् । ३० वैशाखमै निर्वाचन हुन्छ । गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं । आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु,’ प्रचण्डले भने । निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रष्ट पारे ।

भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं । हामीलाई काठमाडौं भए पनि हुन्छ । अरू कुनै महानगरपालिका भए पनि हुन्छ । बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं ।’

महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमतिअनुसार नै अगाडि बढ्ने बताए । अहिले पाँचदलीय गठबन्धनको बैठक र कार्यदलको बैठकमा छलफल भइरहेको र आजै वा भोलिसम्ममा टुंगोमा पुगिने बताए ।