२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन नाइजेरियाको ‘सांस्कृतिक साँझ’मा राजेश पायल राई आउने

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७३, मंगलवार १५:३२

एनआरएन नाइजेरियाले नेपाली संस्कृति प्रबर्धन एवं च्यारिटीका निम्ति यस वर्ष पनि नेपाली नयाँ वर्षको अवसरमा ‘सांस्कृतिक साँझ २०१७’को आयोजना गर्ने भएको छ ।

नाइजेरियाको लेगोसमा आगामी अप्रिल एक तारीखका दिन हुने उक्त साँझमा प्रसिद्ध नेपाली गायक राजेश पायल राईले आफ्नो प्रस्तुति दिनेछन् । संघका नाइजेरिया कार्यबाहक अध्यक्ष जनक बिष्टका अनुसार लोकप्रिय नेपाली गायकलाई अफ्रिकामा बोलाउन पाउँदा यहाँको एनआरएन समुदाय हर्षित भएको छ । संघले गत वर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलीको प्रस्तुतिको सफल आयोजना गरेको थियो ।

संघका आइसिसी सदस्य चिरन्जिबी रोकाका अनुसार यस्तो कार्यक्रमले अफ्रिकामा नेपाली कलासंस्कृतिको प्रबर्द्धन गर्नुका साथै आफ्नो माटोभन्दा टाढा रहेका नेपालीहरुलाई मनोरंजन दिनेछ । उक्त कार्यक्रममा राजेश पायल राईका अतिरिक्त स्थानीय अफ्रिकन कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा आफ्ना गित र नृत्य प्रस्तुत गर्ने संघका सचिब रोशन थापाले जनाउनुभयो ।