डायस्पोरा

बेलायतमा घरको मूल्य तीन वर्षयताकै सबैभन्दा ठूलो वार्षिक गिरावटमा

लन्डन । बेलायतमा घरको मूल्य अक्टोबर महिनामा पछिल्लो तीन वर्षयताकै सबैभन्दा ठूलो वार्षिक गिरावटमा पुगेको छ। लोयड्सको पछिल्लो सूचकांकअनुसार गत वर्षको अक्टोबरको तुलनामा घरको औसत मूल्य १.२ प्रतिशतले घटेको हो। सन् २०२३ अक्टोबरयताकै यो सबैभन्दा ठूलो वार्षिक गिरावट हो।

लोयड्सका अनुसार अक्टोबरमा बेलायतमा घरको औसत मूल्य २ लाख ९६ हजार २८५ पाउन्ड कायम भएको छ। यो सेप्टेम्बरको तुलनामा १ हजार ८८२ पाउन्ड अर्थात् ०.६ प्रतिशत कम हो।

लोयड्सका मोर्गेज निर्देशक एन्ड्र्यु असामले कमजोर आर्थिक अवस्था, बढ्दो मुद्रास्फीति र घरायसी खर्चका कारण घर खरिद गर्नेहरूको निर्णय प्रभावित भएको बताएका छन्।

उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा तथा अन्य वस्तुको मूल्यमा आएको वृद्धिले मुद्रास्फीतिको दबाब बढाएको छ। यसले ऋणको ब्याजदर उच्च रहनुका साथै सर्वसाधारणको आर्थिक क्षमतामा थप दबाब सिर्जना गरेको छ।

यद्यपि, घरको मूल्यमा आएको पछिल्लो गिरावटलाई समग्र बजारको अवस्थासँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ। पछिल्ला दुई वर्षमा उच्च ब्याजदरअनुसार आवास बजार क्रमशः समायोजन हुँदै आएको र निकट भविष्यमा बजार केही सुस्त रहे पनि लामो समयसम्म घरको मूल्य घटिरहने अवस्था नआउने उनले बताएका छन्।

उनका अनुसार ज्याला तथा आम्दानी घरको मूल्यभन्दा छिटो बढिरहेका कारण समयसँगै घर खरिद गर्ने क्षमतामा सुधार आउन सक्छ।

यसैबीच, बैंक अफ इङ्गल्यान्डले बिहीबार आधार ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४ प्रतिशत पुर्‍याएको छ। तीन वर्षभन्दा लामो समयपछि ब्याजदरमा गरिएको यो पहिलो वृद्धि हो।

यूके फाइनान्सका अनुसार ट्र्याकर मोर्गेजमा रहेका घरधनीले औसतमा मासिक ३०.७२ पाउन्ड थप तिर्नुपर्ने हुन सक्छ। तर, बेलायतमा रहेका करिब ८७ प्रतिशत आवासीय मोर्गेज निश्चित ब्याजदरमा आधारित छन्।

यूके फाइनान्सको विश्लेषणअनुसार सन् २०२७ मा करिब २३ लाख निश्चित ब्याजदरका मोर्गेज सम्झौताको अवधि समाप्त हुँदैछ। त्यसपछि नयाँ ब्याजदरमा ऋण नवीकरण गर्नुपर्ने घरधनीलाई थप आर्थिक भार पर्न सक्ने देखिएको छ।

प्रपर्टीमार्कका प्रमुख कार्यकारी नाथन इमर्सनले मुद्रास्फीतिको चिन्ता र ब्याजदर वृद्धिले उपभोक्ताको विश्वास कमजोर बनाउने बताएका छन्।

त्यस्तै, क्विल्टरकी मोर्गेज विज्ञ करेन नोयेले आवास बजारमा घर खरिदकर्ताहरू अघि बढ्न चाहँदा पनि बढ्दो ऋण लागतका कारण उनीहरूलाई कठिन हुँदै गएको टिप्पणी गरेकी छन्।

कोरेकोका प्रमुख कार्यकारी एन्ड्र्यु मोन्टलेकले घर बेच्न चाहनेहरूलाई यथार्थपरक मूल्य निर्धारण गर्न सुझाव दिएका छन्। उनका अनुसार बजार सुस्त हुँदा खरिदकर्ताले मोलमोलाइ गर्ने अवसर पाएका छन्। उचित मूल्यमा राखिएका घर बिक्री हुन सक्ने भए पनि अत्यधिक मूल्य तोकिएका घर बिक्री गर्न कठिन हुँदै गएको छ।

फाइन एन्ड कन्ट्रीकी प्रबन्ध निर्देशक निकी स्टिभेन्सनले बजार सुस्त हुँदैमा घर खरिद गर्ने गतिविधि पूर्ण रूपमा रोकिएको अर्थ नलाग्ने बताएकी छन्। उनका अनुसार खरिदकर्ताहरू अहिले आफ्नो आर्थिक क्षमता र दीर्घकालीन ऋण भुक्तानीलाई ध्यानमा राखेर निर्णय गरिरहेका छन्।

द गिल्ड अफ प्रपर्टी प्रोफेसनल्सका प्रमुख कार्यकारी इयान म्याकिन्जीले बजारको पछिल्लो अवस्थाले विक्रेतालाई घरको मूल्य निर्धारण गर्दा सचेत हुनुपर्ने सन्देश दिएको बताएका छन्। उनका अनुसार खरिदकर्तासँग विकल्प बढेको, ऋण महँगिएको र बजेटमा दबाब परेका कारण बढी मूल्य राखिएका घरले गम्भीर खरिदकर्ता आकर्षित गर्न सकेका छैनन्।

एजे बेलकी व्यक्तिगत वित्त प्रमुख सारा कोल्सले उच्च मोर्गेज ब्याजदर, बजारमा बिक्रीका लागि उपलब्ध घरको संख्या बढ्नु र खरिदकर्ताको कमीले घरको मूल्य घटाएको बताएकी छन्।

बेलायतका विभिन्न क्षेत्रमा घरको औसत मूल्य र वार्षिक परिवर्तन

लोयड्सका अनुसार क्षेत्रगत रूपमा घरको औसत मूल्य र वार्षिक परिवर्तन यसप्रकार छ :

| क्षेत्र | औसत मूल्य (पाउन्ड) | वार्षिक परिवर्तन |

| पूर्वी मिडल्यान्ड्स | २,४४,४२६ | -०.३% |
| पूर्वी इङ्गल्यान्ड | ३,२७,२४१ | -२.३% |
| लन्डन | ५,२४,८९२ | -३.१% |
| उत्तर पूर्व | १,८४,३१८ | +२.०% |
| उत्तर पश्चिम | २,४९,९१६ | +२.२% |
| उत्तरी आयरल्यान्ड | २,२८,७०८ | +४.४% |
| स्कटल्यान्ड | २,२२,६६७ | +२.८% |
| दक्षिण पूर्व | ३,७९,२५८ | -२.४% |
| दक्षिण पश्चिम | २,९८,०५७ | -२.४% |
| वेल्स | २,३३,११६ | +१.६% |
| पश्चिम मिडल्यान्ड्स | २,६१,६५६ | +०.३% |
| योर्कसायर एन्ड द हम्बर | २,१४,४८५ | -१.०% |

क्षेत्रगत तथ्यांकअनुसार उत्तरी आयरल्यान्डमा घरको मूल्य सबैभन्दा बढी ४.४ प्रतिशतले बढेको छ। स्कटल्यान्डमा २.८ प्रतिशत र उत्तर पश्चिममा २.२ प्रतिशत वृद्धि देखिएको छ।

यसको विपरीत, लन्डनमा घरको मूल्य ३.१ प्रतिशतले घटेको छ, जुन उल्लेखित क्षेत्रहरूमध्ये सबैभन्दा ठूलो गिरावट हो। दक्षिण पूर्व र दक्षिण पश्चिममा पनि समान रूपमा २.४ प्रतिशत गिरावट आएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम