लन्डन । बेलायतको केन्टस्थित एम ट्वेन्टी मोटरवेमा बाक्लो कुहिरोका कारण शनिबार साँझ करिब ३० वटा कार तथा मालवाहक लरी एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटना शनिबार साँझ ६ बजेर ४० मिनेटमा लन्डनतर्फ जाने सडकखण्डमा होलिङबर्नस्थित जङ्सन आठ र एशफोर्डस्थित जङ्सन नौ बीच भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई अस्पताल लगिएको छ। तीमध्ये एक जनालाई लन्डनस्थित अस्पताल र अर्का घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य केही चालकसमेत घाइते भएका छन्। उनीहरूको चोटपटक गम्भीर नरहेको बताइएको छ। केन्ट फायर एन्ड रेस्क्युका अनुसार ११ जनालाई स्वास्थ्यकर्मीले उपचार गरेका थिए।
दुर्घटनापछि प्रहरी, एम्बुलेन्स तथा अग्नि नियन्त्रण टोली घटनास्थलमा खटिएका थिए। उद्धार तथा अनुसन्धान कार्यमा केही घण्टा लाग्ने जनाइएको छ।
केन्ट प्रहरीले जङ्सन आठदेखि नौसम्मको लन्डनतर्फ जाने र समुद्री तटतर्फ जाने दुवै सडकखण्ड बन्द गरिएको जनाएको छ। सडक बन्द रातभर कायम रहने सम्भावना रहेको प्रहरीले बताएको छ।
प्रहरीले घटनामा संलग्न नभएका सवारी चालकलाई उक्त क्षेत्रबाट यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
दुर्घटनाबारे कुनै जानकारी वा ड्यासक्याम फुटेज भएका व्यक्तिलाई केन्ट प्रहरीको लाइभ च्याटमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ। सम्पर्क गर्दा सन्दर्भ नम्बर शून्य सात–एक दुई चार पाँच उल्लेख गर्न प्रहरीले आग्रह गरेको छ।

