पोल्याण्डको क्राकोमा गोलीकाण्ड, ६ जनाको मृत्यु, १६ घाइते
मृत्यु हुनेमा चार महिला र दुई पुरुष
लन्डन । पोल्याण्डको दक्षिणी शहर क्राकोमा भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेको बताइएको छ।
प्रहरीका अनुसार गोली चलाउने व्यक्ति २५ वर्षीय पोल्याण्डका नागरिक हुन्। उनले लामो सैन्य शैलीको राइफल प्रयोग गरेका थिए भने सैनिक पोशाकसमेत लगाएका थिए।
स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे (बेलायतको समयअनुसार दिउँसो २ बजे) शहरको मुख्य बजार क्षेत्रनजिक पहिलो पटक गोली चलेको सूचना प्राप्त भएको थियो।
पोल्याण्डका गृहमन्त्रीले आक्रमणकारी दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित रहेको बताएका छन्। घटनामा दुई प्रहरी अधिकारीसमेत घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आक्रमणकारीले चलिरहेको गाडीबाट गोली प्रहार गरेका थिए। घटनापछि उनलाई नियन्त्रणमा लिइएको छ।
घटनालाई मध्यनजर गर्दै क्राको नगरपालिकामा आपत्कालीन प्रतिक्रिया टोली गठन गरिएको छ। स्थानीय प्रशासनले उद्धार तथा सुरक्षाकर्मीको काममा अवरोध नपुर्याउन र घटनास्थल आसपासबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
यसैबीच, घटनास्थलको नक्सामा शहरको मुख्य बजार क्षेत्रस्थित स्लावकोव्स्का सडकमा गोली चलेको भनिएको स्थान र आक्रमणकारी पक्राउ परेको स्थान देखाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

