९ जेष्ठ २०८१, बुधबार
Follow Us

एनआरएनए अध्यक्ष कुल आचार्यको कार्यकालका मुख्य ७ उपलब्धि

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७९, आईतवार १५:३४

लण्डन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले पछिल्लो ६ महिनामा आफुले गरेका ७ वटा उपलब्धिहरु प्रस्तुत गरेका छन् ।

आचार्यले आइतवार भरर्चुअल मार्फत आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आफु कार्यकारी अध्यक्ष हुदाँको कार्यकाल सफल भएको बताए ।

आचार्यको बक्तव्यको पूर्णपाठ

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको वक्तव्य

सर्वप्रथम नेपालीहरूका महान पर्व विजया दशमी, दीपावली, छठ तथा ह्लोसारको पावन अवसरमा गैरआवासीय नेपाली संघका पन्जिकृत सदस्यहरु, पदाधिकारी साथीहरु, संसारभरि रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरु, मिडियाका साथीहरु लगायत यो अभियानमा सघाउने सम्पूर्ण सहयोगी मित्रहरुमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
गत मार्च २०२२ मा नेपालमा गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन केही विषम परिस्थिमा सम्पन्न भएको हामी सबैलाई थाहा छ। गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको म्यान्डेट अनुसार सर्वसम्मतिले गठित नयाँ कार्यसमितिले गत ६ महिनाको छोटो अवधिमा पनि लामो समयदेखि थाती रहेका थुप्रै उल्लेख्य कामहरु पुरा गरेको छ । त्यसमध्ये मुख्यमुख्य यसप्रकार छन् :
१. नेपालको संविधान २०७२ ले उल्लेख गरेको गैरआवासीय नेपाली नागरिकता कार्यान्वायन गर्ने गरी संसदको दुबै सदनबाट नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दुइ, दुइ पटक पारित भएको छ। त्यसलाई मैले मुख्य उपलब्धिको रुपमा लिएको छु। उक्त विधेयक सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुने स्थिति बन्न नसकेकोमा गैरआवासीय नेपाली संघले दुख व्यक्त गरेको छ। संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि हामी नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत सम्बन्धित सबैसंग हार्दिक आग्रह गर्दछौं ।
२. गत १६ जुन २०२२ मा गैरआवासीय नेपाली संघद्वारा ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयमा एक दिने कार्यशाला गोष्ठि भव्य र सभ्यरुपमा सम्पन्न भयो । उक्त गोष्ठिमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, माननीय गृह मंत्रीज्यू, परराष्ट्र मंत्रीज्यू, श्रम मंत्रीज्यू, कानून मंत्रीज्यू, सांसदज्यूहरू, सचिवज्यूहरु, वरिष्ठ सरकारी अधिकारीहरु, कूटनीतिज्ञ, उद्यमी व्यवसायी, संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारी साथीहरु प्रत्यक्ष र भर्चुएल माध्यमद्वारा संसारभरिबाट जोडिनु भएको थियो। उक्त गोष्ठिका ९ बुंदे निष्कर्षहरु हाम्रो वेबसाइटमा छ।
३. त्यस्तै गत २१ जुलाई २०२२ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनु हुन्थ्यो।
सोही अवसरमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएको तर्फबाट मैले, अध्यक्ष बद्री केसी र रबिना थापाले हस्ताक्षर गरेका छौं।
४. विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा नेपाल सरकार तथा निर्वाचन आयोग निकै सकारात्मक रहेको हामीले पाएका छौं। यो निर्वाचन लगत्तै फेरी हामीले ‘फलो अप’ गर्ने छौं।
५. हाम्रो निरन्तर प्रयासको फलस्वरुप एनआरएनहरुका लागि डलर एकाउन्ट खोल्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले पटक पटक नियमावलीहरु संशोधन गरेर सहजीकरण गरेको छ। यो सुविधालाई बढी भन्दा बढी प्रयोग गर्न म सबै साथीहरुलाई आग्रह गर्दछु ।
६. गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पोर्टस् एकेडेमीद्वारा गत भाद्र २४ र २५ गते आयोजना भएको “प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पयनसीप २०२२” प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । एनआरएनएले १ रजत र ४ कास्य पदक जितेको छ। त्यस्तै आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए टिम सहभागी हुन लागेको छ र २० खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।
७. यसै अवधिमा बैंककमा एसिया प्रशान्त क्षेत्रको नवौं बैठक, स्टकहोममा यूरोप क्षेत्रको १४ औं क्षेत्रीय बैठक, युवा तथा महिला सम्मेलन साथै सिड्नीमा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएका छन्। यसैबीच केही एनसीसीहरुमा आन्तरिक विवाद देखिए पनि संघको नेतृत्वले विधान अनुरुप ती विवाद समाधान गर्न सक्दो प्रयत्न गरेको छ। विभिन्न कारणवश एनआरएनएको नाममा छुट्टै गतिविधि संचालन गरिरहेका साथीहरुसंग वार्ता गर्नका लागि संघले एक वार्ता कमिटि पनि गठन गरेको छ। संघका विभिन्न समिति तथा कार्यदलहरुले गरिरहेका कामहरुको बारेमा न्युजलेटरमा उल्लेख छ।
धन्यवाद ।
आइतबार, २ अक्टोबर २०२२