९ जेष्ठ २०८१, बुधबार
Follow Us

हवाईयात्रामा सन्दिप लामिछाने : आफ्नै सहकर्मीले षड्यन्त्र गरे, उजुरीकर्ताको उमेर १८ वर्षमाथि

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७९, शनिबार ०४:१३

लण्डन। नाबालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछाने गत बिहीबार स्वदेश फर्किएका छन् । अमेरिकाबाट नेपाल फर्किका लामिछाने कतार एयरवेजको बिजनेशक्लास सिटबाट नेपाल आएका हुन् । कतारदेखि काठमाडौंसम्मको यात्रामा उनी निकै तनावमा थिए ।

गैरआवासीय नेपाली संघका युरोप युवा संयोजक रमेश काफ्ले र लामिछानेसँगै काठमाडौंसम्मको यात्रामा थिए ।

यात्राको क्रममा लामिछानेले १ ग्लास जुस मात्र लिएका थिए । उनले काठमाडौं उत्रिदा आफुलाई प्रहरीले हातगडी लगाउँछ कि लगाउँदैन होला भनेर पटक पटक सोधेका थिए । उनले आफ्नो कुनै राजनीतिक दल वा शक्तिकेन्द्र समक्ष पहुँच नभएको तर आफूले आफ्ना वकिलमाथि भरोसा राखेको लामिछानेले सुनाए ।

केटीको उमेरमै छलछाम
लामिछानेमाथि नाबालिका बलात्कारको उजुरी दिने बालिकको जन्ममितिसमेत परिवर्तन भएको लामिछानेले दाबी गरेका थिए । युवतीको जन्म मिति गाउँपालिकाको रेकर्ड अनुसार बिक्रम संम्वत २०६१ हो । तर गत अगष्ट महिनामा मात्र उनको बसाई सराईको कागजता मार्फत जन्म मिति परिवर्तन गरेर बिक्रमसम्मत २०६२ साल कायम गरिएको थियो । सन्दीपले ती युवती १८ वर्ष भन्दा माथिको भएको दावी गरेका छन् ।

आफ्नै सहकर्मीले षड्यन्त्र गरे
लामिछानेले यात्राको क्रममा आफ्नै एक सहकर्मी क्रिकेटरको मिलेमतोमा आफूमाथि षड्यन्त्र गरेको बताएका छन् । उनले ती सहकर्मी एकजना सांसदको छोरा भएको समेत जिकिर गरेका थिए । “बाहिर जानुअघि मैले आफ्नै गलफ्रेण्डसँग डिनर खाने योजना बनाएको थिएँ, तर तिनै क्रिकेटरले एकजना तिम्रो ठूलो फ्यान छन् जाने बोलामा समय दिनु भनेका थिए । उनको आग्रह नकार्न नसकेकाले म ती युवती भेट्न गएको हुँ ।” युवतीकै आग्रहमा लामिछानेले नगरकोट लगेको दावी गरेका छन् । आफ्नो गलफ्रेण्डलाई डिनरको समय दिएका कारणले लामिछाने छिटै काठमाण्डौं फर्किन चाहन्थे तर ती युवतीकै कारणले फर्किन ढिलाई भएको लामिछानेले बताएका छन् । ती युवतीले होस्टल जान इन्कार गरेकी थिइन् ।

ती युवतीसँग गएको होटल नियमित रुपमा सबै क्रिकेटरहरु जाने स्थान भएकोले उनै युवतीको सुरक्षाको लागि सो होटलमा लामिछानेले लगेका थिए । उनले रातिको समयमा युवतीलाई सुरक्षित रुपमा होटलमा राखेर विहान हाँसिखुशी विदा भएका थिए ।

युवतीलाई ब्लक गर्दा समस्यामा
लामिछानेले घट्नाको दिन आफ्नी गलफ्रेण्डलाई दिएको समयमा काठमाडौं फर्किन नसकेपछि दुई जनाबीच विवाद सिर्जना भएको थियो । आफ्नै गलफ्रेण्डले तनाव दिन थालेपछि सन्दीपले ती युवतीलाई सबै सामाजिक संजालबाट ब्लक गरेका थिए ।

परिवारको दवावमा झुटा उजुरी
लामिछानेले अदालत जानुअघि ती युवतीसँग प्रत्यक्ष सम्वाद गर्ने चाहना राखेका छन् । लामिछानेका अनुसार ती युवतीले आफ्नो दाजुको दवावमा उजुरी दर्ता गरेकी हुन्। ती युवतीको बाबुआमाबीच यसअघिनै सम्बन्ध बिच्छेद भएको छ । अहिले उनकै दाईको रेखदेखमा काठमाडौंमा अध्ययनरत छन् ।


प्रहरी र मिडियाप्रति सन्दीपको गुनासो

सन्दीपले सामान्य निवेदन दिएकै भरमा आफूलाई बलात्कारी जस्तो गरी सामाजिक संजाल र मिडियामा प्रस्तुत गरिएको प्रति चित्त दुखाएका छन्। उनले ती युवतीको बारेमा प्रहरीले राम्रो अनुसान्धान नै नगरी आफूमाथि लागेको आरोप सार्वजनिक गर्नु निन्दनीय भनेका छन् । ती युवतीको जन्ममिति समेत भेरिफाइ नगरी मलाई नाबालिका बलात्कारको आरोप प्रहरीले लगाएको छ, सन्दीपले भने, ‘म अनुसन्धानको लागि सहयोग गर्न नेपाल आएको हो । प्रहरीले उनको गाउँपालिकासम्म गएर जन्म मिति फेरिफाई गरोस् ।’

उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।

(यो रिपोट कतारदेखि काठमाडौंको यात्रामा काफ्लेसँग लामिछानेले गरेको कुराकानीको आधारमा तयार गरिएको हो)