१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७९, बुधबार ०४:४९

काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

केही समयअघि साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । राष्ट्रिय टिमकै सदस्य प्रिती राईको कप्तानीम नेपाल मैदान उत्रनेछ । कप्तान राईले दोस्रो चरणमा पुग्नका लागि राम्रो प्रदर्शन गर्ने बताइन् ।

यस्तै प्रशिक्षक याम बहादुर गुरुङले नेपालले राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा छनोट हुने विश्वास व्यक्त गरे । पहिलो खेल घरेलु टोलीसँग भएपनि त्यसका लागि आफूहरु तयार रहेको गुरुङले बताए । नेपाली टोलीले पछिल्लो साढे दुई महिनादेखि तयारी गरिरहेको छ । यस बीचमा यू-२० साफ च्याम्पियनसिप पनि खेलेको थियो ।

प्यालेस्टाइनकी प्रशिक्षक गिना खानोफले छनोट प्रतियोगिताका लागि आफ्नो टिम तयार रहेको र अर्को चरणमा पुग्ने लक्ष्य रहेको सुनाइन् । समूह ‘बी’ मा यसअघि युएई पनि थियो र तर युएईले नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ ।

समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुने छ। पहिलो चरणको छनोटबाट हरेक समूहको विजेता (८ टोली ) दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म हुनेछन् जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली
गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी
डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही
फरवार्ड: गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान