९ भाद्र २०८२, सोमबार
Follow Us

जमानत अस्वीकार गर्ने जिल्लाको फैसलाविरुद्ध उच्च गए रवि लामिछाने

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार १३:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

सुप्रिम सहकारीको बचत अपचलनमा थुनामा रहेका लामिछानेले बिगो रकम बुझाएर रिहा गर्न दिएको निवेदन जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले खारेज गरेको थियो । त्यसविरुद्ध उनले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सोमबार रिट दायर गरेका हुन् ।

लामिछानेलाई गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २५ चैतयता रुपन्देही कारागारमा थुनामा रहेका लामिछानेलाई उनकै मागअनुसार गत साता ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ ।

यसअघि उनले आफ्नो भागमा पर्ने सहकारीको अपचलन भएको रकम बचतकर्तालाई फिर्ता दिने भन्दै रिहाइका लागि जिल्ला अदालतमा गत १९ साउनमा निवेदन दिएका थिए । निवेदनसँगै उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो रकम बैंक जमानत दाखिला गरेका थिए ।

धेरै पढिएको