काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले आफ्ना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक अपिल गरेको छ ।
महासंघका महासचिव भरत नेपालले सोमबार विज्ञप्तिमार्फत उक्त आग्रह गरेका हुन् । महासंघले अव्यावहारिक विषय संशोधन भएसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न भनेको छ ।
सरकारले सरोकारवालासँगको संवादबिना इम्बोस्ट नम्बर प्लेट जडान गर्न भनेको महासंघको आरोप छ ।
‘सरकार प्रत्यक्ष सरोकार पक्षहरूबीचको छलफल संवादबीच देखिएका अव्यावहारिक विषयहरूको संशोधन, सुधारपबना सार्वजनिक, पर्यटक, ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नु हुन सबैमा हार्दिक अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।
जबर्जस्ती इम्बोस्ट नम्बर प्लेट जडान गर्न खोजिए विरोध र दबाबका गतिविधिप्रति स्वयं यातायात मन्त्रालय र मातहतका निकाय जवाफदेही हुने चेतावनी महासंघले दिएको छ ।
नेपाली भाषाको देवनागरी लिपि लोप हुने तथा आवश्यक पूर्वाधारविना नै नागरिक र सिंगो यातायात व्यवसायमा आर्थिक भार हुने गरी एकपक्षीय रूपमा भएको सरकारको निर्णयका कारण नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने दाबी महासंघको छ ।
यातायात व्यवस्था कार्यालयले आगामी १ असोजदेखि अनिवार्य इम्बोस्ट नम्बर प्लेट जडान गर्न भनेको छ ।