९ भाद्र २०८२, सोमबार
Follow Us

अन्ततः उकालो लाग्यो नेप्से

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार १४:०१

काठमाडौं । लगातारको गिरावटपछि सोमबार साताको दोश्रो कारोबार दिन सेयर बजार उकालो लागेको छ ।

बजार २१.३० अंकले उकालो लाग्दै २७६१ विन्दुमा पुगेको छ । कारोबार अवधिभर उतारचढाव देखिए पनि दिउँसो २:३० बजेको आसपास नेप्सेले २७६४ अंक छोएको थियो, जुन आजको उच्च विन्दु रह्यो ।

बजारको सूचक उकालो लागे पनि कारोबार रकममा भने केही गिरावट देखियो । अघिल्लो कारोबारी दिन ६ अर्ब ५४ करोड बराबरको कारोबार भएकोमा आजको दिन ५ अर्ब ७५ करोडमा झर्‍यो। यद्यपि, बजारमा सकारात्मक माहोल देखिएको छ—१७९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ ।

समूहगत हिसाबले अधिकांश सूचक हरियो देखिए । अन्य समूहले सबैभन्दा धेरै, २.७९ प्रतिशतको उचाइ लियो । नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीको दरमा आएको उल्लेख्य वृद्धिले यो समूहलाई माथि धकेल्यो ।

बैंकिङ ०.५८, विकास बैंक ०.९५, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.४५, जलविद्युत ०.३२, लगानी ०.३४, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.३१ र व्यापार समूह ०.०५ प्रतिशतले उकालो लागे । उत्पादन तथा प्रशोधन समूह भने सामान्य ०.०५ प्रतिशतले घटेको छ ।

केही कम्पनीको मूल्यमा उल्लेखनीय सुधार देखिएको छ । नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। यस्तै, साना किसान विकास बैंक ५.२६, नेपाल पुनर्बीमा ५.१०, माहुली लघुवित्त ४.४८, उन्नति सहकार्य लघुवित्त ४.२५, मिथिला लघुवित्त ४.२५ र हिमालयन रिइन्स्योरेन्सको मूल्य ३.३६ प्रतिशतले बढेको छ ।

अर्कोतर्फ, सिक्लेस हाइड्रोपावरको मूल्य ३.५४ प्रतिशतले घट्दा सीवाईसी लघुवित्त ३.५० र खानीखोला हाइड्रोपावर २.६३ प्रतिशतले ओरालो लागेको छ ।

कारोबारको हिसाबले सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, राधि विद्युत् र छिमेक लघुवित्त परेका छन् ।

धेरै पढिएको