७ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्वत वेलफेयर सोसाइटी यूकेले मनायो नयां वर्ष कार्यक्रम

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०८०, मंगलवार ०९:२७

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले आइतबार एक कार्यक्रमबीच नेपाली नयां वर्ष २०८० मनाएको छ ।

बेलायतको अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा आयोजित समारोहमा पर्वत जिल्लाबाट आएर बेलायतमा बसोवास गरिरहेका पर्वते एवं गैर पर्वतवासी सयौं नेपालीको उपस्थिति थियो ।

कार्यक्रम उद्घाटन प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ र वर्तमान अध्यक्ष अप्सरा गुरुङले संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा बेलायत र नेपालको राष्ट्रिय गान बजाइएको थियो भने कोभिड महामारीमा दिवंगत आफ्ना सदस्यहरुप्रति श्रद्धान्जली अर्पण गर्न एक मिनेट मौनधारण समेत गरियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै राजदूत ज्ञानचन्द्र आचार्यले २१ वर्ष अघि स्थापित पर्वत समाजले गरेका सामाजिक कार्यहरुको तारिफ गरे ।

राजदूत आचार्यले समाजलाई विशेष गरि दुई महत्वपूर्ण दीर्घकालिन काम गर्न पनि सुझाए । पहिलो नयां पुस्तालाई नेपालसंग जोड्ने कार्यक्रम ल्याउन र अर्को पर्वत पर्यटकीय जिल्ला भएकाले पर्यटकीय आकर्षणबारे बेलायतीलाई आआफ्नो तर्फबाट प्रचार प्रसार गर्न उनको आग्रह थियो ।

नेपाली कला, संस्कृति र परसम्परा जगेर्ना गर्ने कार्यमा समेत सदैव लागिरहन राजदूत आचार्यले अनुरोध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अध्यक्ष कुल आचार्यले आफ्नो जन्मथलोका लागि केही गर्न आग्रह गर्दै संविधान बनेको ८ वर्ष बितिसक्दा पनि गैर आवासीय नेपाली नागरिकता विधेयक अझै पारित नभएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हालैको भेटमा स्मरण गराएको बताए ।

‘मैले प्रधानमन्त्रीज्यूसंग सशक्त रुपमा एनआरएनए नागरिकता विधेयक पारितका लागि प्रक्रिया बढाउन माग गरेको छु । उहांले मलाई तीन महिना समय दिनु भन्नुभएको छ हामी आशावादी हुनुपर्छ’-आचार्यले भने ।

अध्यक्ष आचार्यले पहिलो गैर आवासीय नेपाली नागरिकता सुनिश्चित गरेपछि अरु विस्तारै माग्दै जान सकिने पनि बताए । ‘कतिपय साथीहरुले एनआरएन नागरिकताबारे भ्रम सृजना गरिरहनु भएको छ । कृपया त्यस्तो नकारात्मक प्रचार नगरौं’-उनले भने ।

उनले सरकारले सामाजिक सुरक्षा कोष व्यवस्था गर्नु पनि एनआरएन अभियानको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।


समाजकी अध्यक्ष अप्सरा गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूके संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष दधि आचार्य, निवर्तमान अध्यक्ष नेत्र आले लगायतले शुभकामना दिएका थिए ।

अध्यक्ष गुरुङले अग्रजहरुको साथ सहयोगको अपेक्षा गर्दै संस्थाले गरेका विविध गतिविधिबारे प्रकाश पारिन् । उनले सहयोगी सबैप्रति आभार समेत व्यक्त गरेकी थिइन् ।

महासचिव सन्जयध्वज भण्डारीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा समाजले ‘टप ५’ पर्वतेलाई सम्मान समेत गरेको छ । उक्त सम्मान पाउनेमा समाजका संरक्षक रविन्द्रजंग लामिछाने, संरक्षक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, तमुधिं यूके अध्यक्ष हरि गुरुङ र थर्क राना थिए ।

कार्यक्रममा कृतिका आचार्यले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । सो अवसरमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु साहिमा श्रेष्ठ, रमिला न्यौपाने, सुदीप क्षेत्री, कृष्ण काफ्ले र सागर गुरुङले सुमधुर गीत प्रस्तुत गरेर मनोरन्जन प्रदान गरे । स्थानीय गायक बाबुराम भुषालले पनि गायन प्रस्तुत गरेका थिए ।

तस्बिरहरु- मिलन तमु