१५ चैत्र २०८०, बिहीबार
Follow Us

अक्टोबर ग्यालरीले चर्चामा आएका गोविन्द साह ‘आजाद’

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८०, बुधबार १६:४०

लण्डन । कलाकार गोविन्द साह ‘आजाद’ बेलायतमा सम्मानित भएका छन् । उनलाई नेपालब्रिटेन डट कमले गत आइतवार चर्चित व्यक्तिको रुपमा लण्डनमा सम्मान गरेको हो ।

युवा नेपाली कलाकार गोविन्द साह ‘आजाद’ का कलाकृतिहरू लन्डनको प्रतिष्ठित अक्टोबर ग्यालरीमा प्रदर्शनी ल्याएपछि चर्चामा आएका छन् । लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मद्दतले उनले सिर्जना गरेका ठूला तथा साना कलाकृतिहरु २८ जनवरी २०२३ सम्म प्रदर्शन गरेका थिए ।

सन् १९९१ देखि ०९४ सम्म दिल्लीमा बस्दा उनले सुरुमा केही महिना साइनबोर्ड र भित्तामा लेख्ने काम गरेपछि मारुती फ्याक्ट्रीमा रंगरोगनकै काम थाले । जीविकोपार्जनका लागि कमाइ राम्रै भए पनि गोविन्दको चाहना व्यवसायिक कलाकार बनेर विश्व जगतमा छाउने थियो ।

करिब ५ वर्षपछि सन् १९९५ मा काठमाडौं फिरे । भौतारिँदै जाँदा उनले सामाखुशीमा कलाकार कृष्णगोपाल रन्जितलाई भेटे । गोविन्दले आफ्नो इच्छा कृष्णगोपाललाई बताएपछि उनले आफैं चित्र कोर्न नसिकाउने बरु भोटाहिटी ललितकला क्याम्पस जान सुझाए । २०५१ सालतिर उनले कला अध्ययन अगाडि बढाए । अध्ययनका क्रममा उनले विभिन्न सामूहिक प्रदर्शनीमा भाग लिएर सन् १९९९ मा एकल चित्रकला प्रदर्शनी गर्न सफल भए ।

सन् २००३ मा ललितकलाबाट बीएफए उत्तिर्ण गरेपछि गोविन्दले सन् २००६ तिर ढाकाको युनिभर्सिटी अफ डेभलप्मेन्ट अल्टरनेटिभबाट फाइन आर्टमा एमए गर्ने अवसर पाए । लगत्तै सन् २००८ मा लन्डनको विम्बल्डन कलेज अफ आर्टबाट फेरि एमएफए गरे ।

सन् २००७ मा लन्डन टेकेका गोविन्दप्रसाद साह ‘आजाद’ अहिले अन्तर्राष्ट्रिय कलाकारको रुपमा स्थापित छन् । उनी सेन्ट्रल लन्डनस्थित प्रख्यात आर्ट ग्यालरी अक्टोबर ग्यालरीसँग आवद्ध छन् ।