१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०८०, आईतवार ०६:४३

महोत्तरी । बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन । तर ‘राल्फा’ आन्दोलनको  चर्चा हिजोआज पनि भइरहन्छ ।  २०२१ सालमा सरकारका विरुद्ध सुरु भएको  राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो ।

काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो । पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची–महाकालीसम्म पुगेका थिए  । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको छ, महोत्तरीमा पनि ।

भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाइ थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर यसकाे औपचारिक सुरुवात गर्ने भएको छ । `लेखक तथा साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाको माध्यमबाट आन्दोलन गर्ने तयारी गरेका हौँ, ´ प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले भने।

यसअघि पनि बिद्रोही चेतका कविताका माध्यमबाट जिल्लाका साहित्यकारहरुले आफ्ना रचनाहरु प्रकाशन गर्दै आएका छन । सामाजिक मुद्दाका  विषयहरूलाई समेत रचनाका माध्यमबाट प्रष्फुटित गर्दै आएका महोत्तरीका साहित्यकारहरु भ्रष्टाचारको विरुद्ध पहिलोपटक संगठित हुन लागेका हुन् ।

मोफसलबाट सुरु गरिएको यो साहित्यिक आन्दोलन सम्भवत: देश कै पहिलो आदोलन हुन सक्ने प्रगतिशील लेखक संघको दाबी छ । तत्कालीन समयमा रायन र रमेशले रेडियो नेपालबाट पारिश्रमिक नपाएको विषयमा पारिजातले नेतृत्व गरेको राल्फा आन्दोलनको जतिकै भ्रष्टाचार विरुद्धको आन्दोलन सशक्त बन्नुपर्ने अध्यक्ष नारायण घिमिरेले बताए ।

समाजमा विद्रोही चेतका कविताका माध्यमबाट भ्रष्टाचारविरुद्ध चलाइने कलम साहित्यकारहरुको लागि आफैँमा चुनौती भए पनि सबैले त्यसकाे जिम्मेवारीबोध गर्नुपर्ने महोत्तरीका साहित्यकारहरुको बुझाइ छ ।

गणतन्त्र दिवसको दिन बर्दिबासस्थित एक होटलमा हुने आयोजित कार्यक्रममा  साहित्यकारहरुले आफ्ना विद्रोही भावहरु व्यक्त गरेर भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनको सुरु गर्नेछन ।