लन्डन । एनआरएनए युकेको २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार दिनेश घिमिरेले बेलायतको नेपाली समाजमा सामाजिक सद्भाव कायम गर्न आफुले उम्मेदवारी दिएको जनाएका छन्।
सोमबार आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै घिमिरेले बेलायतको नेपाली समाज विभाजित रहेकाले त्यो विभाजन मेट्न आफु अगाडी सरेको बताए।
उनले तीन ओटा क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि जनाए । पहिलो, संस्थागत सुधार गर्ने, दोश्रो। बेलायतस्थित नेपाली समाजमा सद्भाव सिर्जना गर्ने, बेलायत मा रहेका सामाजिक संस्थाहरुबीच समन्वय कायम गर्ने र तेश्रो, आफ्नो कार्यकाल भरि दोश्रो वर्षको ३६५ दिन नै सदस्य बन्न सक्ने र रिन्यु गर्न सक्ने सिस्टम बनाउने उनैल बताए।
भूतपूर्व गोर्खा सैनिकहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै उनले वृद्ध बुवा आमालाई सहयोग गर्ने र वंशजको नागरिकताको लागि क्याम्पेन गर्ने बताए । उनले गैर आवासीय नेपाली नागरिकता लागू गर्न क्रियाशील रहने पनि जनाए।
‘नेपाली विद्यार्थी भाइ बहिनी हरुलाई एनआरएनएको सदस्य बनाउन नेपाल सरकारसंग लबी गर्ने छु। प्रस्थान अघि जानकारी दिने , हाते पुस्तिका वितरण गर्ने, दोश्रो पुस्ता का बाल बालिका लाई नेपाल संग जोड्न कार्यक्रम चलाउने छु। नेपालको विकासको साझेदार संस्थाको रुपमा रहेको एनआरएनहरु संग रहेको ज्ञान, अनुभव र पूँजी नेपालमा उत्पादन र रोजगारी सिर्जना गर्न प्रयोग गर्ने छु,’ घिमिरेले भने।
लामो समयदेखि एनआरएन अभियानमा लागेको र एनआरएन पनि बुझेकाले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको पनि उनले बताए।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिंदै घिमिरेले आफुहरु आधिकारिक एनआरएनएसंग आबद्ध रहेको बताउंदै सहमतिको आधारमा नेतृत्व चयन होस् भन्ने पक्षमा आफु रहेको बताए। प्रेम गाहा मगर निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो। तर प्रक्रियागत रुपमा उहाँको निरन्तरता हुनसकेन, संस्थाको नियम हुन्छ, विधान हुन्छ, त्यो सबैले पालना गर्नु पर्छ, उनले भने।
‘मलाई एनआरएनएको लिमिटेशन थाहा छ। भूतपूर्व गोर्खा सैनिकहरुको माग पुरा गर्न नेपाल सरकार र संसदसम्म पनि यो विषय हामीले लग्ने छौं,’ उनले भने।
एनआरएनए युकेका पूर्व सचिव डा कृष्ण उपाध्यायले संचालन गरेको कार्यक्रममा एनआरएनए आइसीसी सदस्य राजेन्द्र पुडासैनीले शुभकामना दिएका थिए।
को हुन दिनेश घिमिरे ?
नेपालको झापा घर भएका घिमिरेको तत्कालिन जन्मघर ताप्लेजुङ्ग हो । पिता पद्म प्रसाद घिमिरे र माता भीम कुमारीको कोखबाट जन्म लिएका घिमिरेले नेपालमै अंग्रेजी बिषयमा स्नातकोत्तर (एमए) गर्नुको साथै बेलायतको लण्डन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएससी र एमबिए गरेका छन् ।
सानै उमरेदेखि सामाजिक कार्यमा सकृय घिमिरेले विद्यार्थी कालमै रेडक्रस, स्काउट तथा जिल्लास्तरीय मानवअधिकार संम्बन्धी कार्य गरेका थिए ।
अन्तरराष्ट्रिय संस्था एफडिआईमा कन्सलट्यान्टका रुपमा काम गरिरहेका घिमिरे आर्थिक परामर्शदाता समेत हुन । शालिन र बौद्धिक व्यक्तित्वका रुपमा परिचित घिमिरे दुई दशकदेखि बेलायतमा सपरिवार बसोवास गर्छन । बेलायतस्थित नेपाली संघसंस्थामा सक्रिय घिमिरे एनआरएनएको सुरुवाति दिन देखिका अभियन्ता हुन ।