काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) यतिबेला सामाजिक सञ्जालमा तीव्र आलोचनाको शिकार बनेका छन् । सोमबार उनको फेसबुक एकाउन्टबाट सार्वजनिक भएको एक कवितामा किसानलाई ‘फोहोर’ भनी सम्बोधन गरेपछि उनीमाथि चौतर्फी प्रहार भएको हो ।
बालेनले आफ्नो कविताको एक हरफमा लेखेका छन्, ‘जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर ।’ यही वाक्यांशले अहिले सामाजिक सञ्जालमा ठूलो विवाद निम्त्याएको छ। किसानलाई ‘फोहोर’ सँग तुलना गर्नु आपत्तिजनक भएको भन्दै धेरैले उनको आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेनको कविताको उक्त अंशको स्क्रिनसर्ट सेयर गर्दै किसानप्रतिको उनको धारणा गलत र अपमानजनक भएको तर्क गरिरहेका छन् । उनीहरूले किसानको पसिना र अथक परिश्रमबाट नै देशको अर्थतन्त्र चलेको र जनताको पेट पालिएको भन्दै बालेनको अभिव्यक्तिको खण्डन गरेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘किसानको पसिनाबाट नै हामीले अन्न खान पाएका छौँ। उहाँहरूलाई फोहोर भन्नु देशको वास्तविक फोहोरलाई नचिन्नु हो ।’ अर्का एक टिप्पणीकर्ताले ‘किसानलाई फोहोर देख्ने दृष्टिकोण कस्तो हो ? त्यही फोहोरले उब्जाएको खानपर्लनी त यहाँलाई पनि । किसान फोहोर हैन, मिहिनेती हुन्छ’ भन्दै बालेनलाई प्रश्न गरेका छन् ।
धेरैले बालेनको यो अभिव्यक्तिले उनको अपरिपक्वता झल्काएको र एक सार्वजनिक पद धारण गरेको व्यक्तिबाट यस्तो संवेदनहीन टिप्पणी आउनु दुःखद भएको बताएका छन् । किसानलाई ‘फोहोर’ भन्नु भनेको उनीहरूको योगदानको अवमूल्यन गर्नु रहेको भन्दै आक्रोश व्यक्त गर्नेहरूको संख्या बढ्दो छ ।