१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचन : कुन देशबाट कति प्रतिनिधि चयन हुन्छन् ?

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८०, शुक्रबार ००:५७

लण्डन । गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलनमा ५९ देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार सो महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको दर्ता बुधवार देखि सुरु भएको छ ।
गैरआवासीय नेपाली संघका विश्वभर छरिएका शाखाका ९६८५० पंन्जिकृत सदस्यहरुबाट ती प्रतिनिधिहरु चयन हुने छन् । संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० कार्तिक ३ गते (१७ अक्टोबर –२० अक्टोबर, २०२३) मा हुदैछ । प्रतिनिधिहरुको अन्तिम नामावली अगष्ट ३१ तारिखमा प्रकाशन गरिनेछ ।

गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय शिव बरुवाल र सोम सापकोटाले विहिवार एक विज्ञप्ति जारी गर्दै १० औँ महाधिवेशनको क्रममा देखिएका असन्तुष्टीहरु समेत सम्बोधन भैसकेको बताएका छन् ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु,एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहने संघले जनाएको छ ।

विज्ञप्तिमा ‘गैरआवासीय नेपाली संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गरिने भएको छ । सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिनेछ । यस महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ । सम्मेलनको तयारीको लागि जुलाइ १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् । निर्वाचित सबै राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा समस्त कार्यसमितिप्रति संघ हार्दिक बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दछ’ उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु, विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको ठानेका छौं ।’

संघको नयां नेतृत्वको लागि हुने निर्वाचनको लागि वर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसी, अध्यक्ष रविना थापा, उपाध्यक्ष डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले अध्यक्ष पदको लागि आकांक्षा देखाएका छन् । सो महाधिवेसनमा ६४ पदको लागि निर्वाचन गर्ने संघको तयारी रहेको छ ।