२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए उपाध्यक्षमा जापानबाट श्रेष्ठको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
५ आश्विन २०८०, शुक्रबार ०४:१३

गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औं महाअधिवेशनका लागि वर्तमान आइसीसी उपाध्यक्ष रोबिन्दप्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उपाध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जापानका सफल व्यवसायी एबं सामाजिक व्यक्तित्वको पहिचान बनाएका श्रेष्ठले नैतिकता, इमानन्दारिता र स्वाधीनता एनआरएनएमा पारदर्शिता’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२३–२०२५ लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका श्रेष्ठले एनआरएनए अभियानमा निरन्तर र क्रमिकरुपमा अगाडि बढ्न आइसीसी उपाध्यक्ष पदमा पुन दोस्रो कार्यकालको लागि उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

लामो समयदेखि जापानलगायत विश्वमा सामाजिक क्रियाकलापमा सक्रिय र एनआरएनएको अभियानमा स्थापनाकाल देखि नै क्रियाशील रहदै श्रेष्ठ समन्वयकारी भूमिका निर्वाहमा आफुलाइ सशक्त रूपमा प्रस्तुत गर्ने सामाजिक र एनआरएनए अभियन्ताका रुपमा चिनिन्छन् ।

एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता र सँस्थागत अनुशासन एनआरएनए अभियानको आफ्नो पहिलो प्राथमिकता रहेको बताउँछन ।

विश्वमा नेपालीहरुको अभिभावकीय संस्थाको रूपमा रहेको एनआरएनएलाई समाजसेवाको उपयुक्त माध्यमका रूपमा लिइ उच्च नैतिकता प्रस्तुत गर्दै इमान्दारितापूर्वक काम गर्नुपर्ने र आफूले सोही अनुसार कर्तव्य निर्वाह गर्दै आइरहेको श्रेष्ठको भनाइ छ ।

एनआरएनएको अभियानलाई व्यवस्थित रूपमा संचालन गर्नको लागि प्रविधियुक्त प्रणालीको विकास गरि अगाडी बढाउने आफ्नो मुख्य योजना रहेकोले सो योजना सफल बनाउनका लागि उपाध्यक्षमा पुनः विजयी गराईदिनका लागि सम्पूर्ण एनआरएनए अभियानमा लागेका मतदाता र अभियन्तालाई श्रेष्ठले आग्रह गरेका छन ।

‘आफु बलियो भयो भने संस्था बलियो हुन्छ, संस्था बलियो भयो भने जुनसुकै काम गर्न सकिन्छ’ श्रेष्ठ भन्छन–‘संकट र आपतकालिन अवस्था बाहेक हरेक प्रोजेक्टको लागि श्रोतको आधार अनुसार मात्र खर्च गरिनुपर्छ ।’ एनआरएनएमा दीर्घकालिन कोषको पनि ब्यबस्था गरेर त्यसलाई अनुशाशित रुपमा चलाउनु आजको आवश्यकता भएको श्रेष्ठको बुझाई छ ।

मुलुक बाहिर रहेका सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रूपमा विकसित भैसकेको एनआरएनएलाई अझै साझा मनोविज्ञानको रूपमा विकसित गराउनका लागि समावेशिताको सिद्धान्त अनुरूप कामकारबाही गर्न र सोही बमोजिमको संगठनात्मक संरचना निर्माण गर्नको लागि आफूले विशेष पहल गर्नका लागि पनि उपाध्यक्ष पदमा पुन निर्वाचित गरिदिनको लागि श्रेष्ठको आग्रह छ ।

नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरूले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेपालको बिकास र संवृद्धि भएपछि मात्र हामी नेपालीको शीर उचो हुने भएकोले विदेशमा रहेका बौद्धिक क्षमता सीप र प्रविधिको प्रयोग गर्दै लगानीका निम्ति पहलकदमी लिनुपर्नेमा उनको जोड छ । विदेशमा रहेर हामी जतिसुकै सफल व्यवसायी र उच्च पदमा कार्यरत रहेपनि नेपालको विकास र स्थिरता नभएसम्म हामीलाई विदेशीले हेर्ने दृष्टिकोण सकारात्मक नहुने पाइएकोले मुख्य त नेपालको विकास र संवृद्धिका लागि लगानी भित्र्याउन र बिश्वमा रहेका नेपालीहरुलाई एकजुट बनाउन पहल गर्ने श्रेष्ठको योजना रहेको छ ।

श्रेष्ठ यस अभियानमा मध्यपुर्व, मलेसिया, कोरिया, जापान, युरोपलगायतका देशमा रहेका जतिसक्दो धेरै श्रमिकहरुलाई आवद्धता गराउँदै उनिहरुको हक अधिकारको लागि मापदण्ड नै बनाएर अगाडि बढ्नुपर्ने बताउँछन् ।