१२ श्रावण २०८१, शनिबार
Follow Us

रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०८०, मंगलवार ०५:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा पुगेका दुई सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको जानकारी दिए । उनले त्यसबारे अहिले अध्ययन र खोजी भइरहेको पनि जनाए ।

उनले रुसी सेना बनेका नेपालीहरु कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको दाबी गरे । प्रधानमन्त्री दाहालले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि जानकारी दिए ।

‘चाहे रुस-युक्रेनको युद्ध, हामीले नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब दुई सयभन्दा बढी छन् भन्ने छ, त्यसको खोजी, अध्ययन भइरहेको छ,’ दाहालले भने, ‘कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दै छौं । विगतमा देख्न बेहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० नेपालीको ज्यान गयो एकजना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढिरहेका छौं ।’

अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको दाबी गरे । उनले गठबन्धनका बैठकहरु हेर्दा प्रयासले मात्र केही नहुनेमा आफू विश्वस्त रहेको दाबी गरे ।

उनले गठबन्धन पूरै अवधि जाने दाबी गरेका छन् । अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने के-के भन्ने त रातदिन एकथरीको खेल कसरत भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ । अब एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको छ ।’