१२ श्रावण २०८१, शनिबार
Follow Us

पोखरा बैठकका निर्णय कार्यान्वयन गर्न साझा धारणा बनाउँदै मुख्यमन्त्रीहरु

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८०, शुक्रबार ०५:५५

मकवानपुर । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हिजोदेखि हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज सम्पन्न हुँदैछ । गोष्ठीमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा छन् ।

आजको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशले जनाएको छ । गत असार १५ र १६ गते पोखरामा बसेको मुख्यमन्त्रीहरुको बैठकका निर्णय कार्यान्वयनका सम्बन्धमा साझा धारणा बनाएर संघीय सरकारलाई दबाब दिन कार्ययोजना बनाउने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए ।

पोखरा बैठकले संघीयता कार्यान्वयनका विषयहरू ६ महिनाभित्र कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो । त्यो समयसिमा पौष १५ मा सकिदैछ । हिजो तीनै तहको सरकारको संरचनागत जिम्मेवारीका विषयमा क्षेत्रगत रूपमा विज्ञहरूले प्रस्तुतीकरण गरेका थिए ।

छलफलमा संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडका बारेमा साझा धारणा बनाएर जाने सहमति बनेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,नेपाल नगरपालिका संघ,गाउँपालिका राष्ट्रिय महासंघको संयुक्त आयोजनामा कार्यक्रम भैरहेको हो ।