१९ बैशाख २०८१, बुधबार
Follow Us

नेपाल टेस्ट राष्ट्र बन्न एनआरएनको सहयोग जरुरी छ : पारस खड्का

नेपालब्रिटेन डट कम्
६ माघ २०८०, शनिबार ११:३०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी-२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेको हो ।

क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदिप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो । एनआरएनएका सचिव पारसमणी पोखरेलले क्यानका सचिव खड्कालाई टोकन अफ लभ दिएका थिए ।

कार्यक्रममा बोल्दै क्यानका सचिव एवं पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटमा गैरआवासीय नेपालीको साथको आवश्यकता रहेको बताए । ‘क्रिकेटका गतिविधिहरुमा साझेदारी बलियो बनाउन विश्वभरका नेपालीलाई जोड्न जरुरी छ,’ उनले भने । नेपाल विश्वकपमा छनोट भइसकेपछि धेरैले क्यानसँग जोडिन खोजेको भन्दै खड्काले यो कुरालाई एनआरएनले बलियो बनाइदिएको बताए । ‘यो सहकार्यले विदेशमा हुर्किरहेको नयाँ पुस्ताले नेपालको प्रतिनिधित्व गर्नेछ,’ उनले भने ।

बिना लगानी वा थोरै लगानीमा यो स्थितिसम्म आइपुगेको भन्दै उनले क्रिकेटको संरचना पनि विकास हुन थालेको जानकारी गराए । अब राष्ट्रिय क्रिकेटमात्र होइन जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

क्रिकेटले देश, खेलाडीका साथै पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको उनले बताए । ‘यो खेललाई कसरी स्थापित गर्ने भन्नेमा सबैको ध्यान होस् । एनआरएनएको सहकार्यबाट राम्रो नतिजा निकाल्न सक्छौं । यो सहकार्यलाई अर्को चरणमा लैजान क्यानले पनि बोर्ड बैठकबाट छलफल चलाउनेछ । नेपाललाई टेस्ट राष्ट्र बनाउन सबैको सहयोग आवश्यक छ । अबको १० वर्षमा टेस्ट राष्ट्र बनाउने भनेरमात्र हुँदैन । सबैको हातेमालो आवश्यक छ,’उनले भने । संसारभर बस्ने नेपालीको सहयोग आउने च्यानल बनाउन क्यान तयार रहेको र ट्रस्ट बनाएर जान सकिने भन्दै उनले यसबाट घरेलु क्रिकेटको विकास हुने बताए ।

महिला क्रिकेट पनि क्यानको प्राथमिकतामा रहेको उनले बताए । ‘महिला क्रिकेटमा २००७ सम्म राम्रो थियो । एसीसीसम्म पुग्यो । तर पछि खस्कियो । लगानी नै भएन । महिला क्रिकेट प्राथमिकतामा परेको छैन । क्यानमा नयाँ टिम आइसकेपछि महिला टिमलाई प्राथमिकतामा राखेका छौं । सन् २०२६ बाट महिला टिमले राम्रो नतिजा ल्याउनेगरी तयारी गरिरहेका छौं,’ उनले भने ।

पूर्वकप्तान विनोद दासले गैरआवासीय नेपाली संघले नेपाली क्रिकेटमा योगदान गर्न खोजेकोप्रति उत्साहित रहेको यो सहकार्यले क्रिकेटको विकास अझै मजबुद बनाउने बताए । ‘नेपालमा मेहनती युवा खेलाडी छन् । क्रिकेटका उल्लेख्य फ्यान छन्, खेलको सांगठनिक संरचना पनि बलियो हुँदैछ, तर पूर्वाधारमा फितलो छौं । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट ग्राउण्ड छैन । एनआरएनको सहयोगले बलियो बनाउन सक्छौ । अर्को ट्रेनिङ र एक्सपोजर हुन सक्छ । धेरै देशमा फैलिएको यो संस्थाको सहकार्यले एक्सपोजरको दायरा फराकिलो बनाउँछ । क्रिकेटको विकासमा टेवा त पुर्याउँछ नै समग्र खेल क्षेत्रमै उदाहरणीय सहकार्य हुनसक्छ,’ उनले भने ।

क्यानका कार्यकारी सदस्य सुदीप शर्माले एनआरएनले गरेको सुरुवात स्वागतयोग्य रहेको र भोलिका दिनमा पूर्वाधार विकास र खेलाडीलाई एक्सपोजरमा मद्दत पुग्ने बताए ।

एनआरएनए युवा उपाध्यक्ष एवं खेलकुद प्रतिष्ठानका रोशनकुमार थापाले ७० लाखभन्दा बढी विदेशमा नेपालीको मन क्रिकेटमा हुने र नेपालले जितेमा खुसी हुने बताए । ‘नेपालको प्रतिनिधत्व गरेर जाँदा नेपालले अन्य राष्ट्रलाई जित्यो भन्दा गर्वले छाति फुल्छ । अमेरिकाको हुन गइरहेको खेलमा भ्याएसम्म सम्पूर्ण सहयोग गर्ने । तत्कालीन तथा दीर्घकालीन सहकार्य गर्न चाहन्छौं,’ उनले भने ।

एनआरएन सचिव पारसमणी पोखरेलले जुन ४ मा टेक्सासमा हुने नेपाल र नेदरल्याण्डको खेलमा अहिलेसम्मकै बढी नेपाली दर्शक उपस्थित गराउने बताए । ‘यसका लागि नेपाल क्रिकेटलाई सहयोग भनेर अभियान नै चलाउँदैछौं । टेक्सासमै ५० हजार नेपाली नागरिक बस्नुहुन्छ । ८६ राष्ट्रबाट दर्शक सहभागी गराउन हामी ती देशमा जाँदैछौं । हामी आह्वान गर्छौं, सबै जना क्रिकेट हेर्न जाउ,’ उनले भने ।

अर्का सचिव स्वतन्त्रप्रताप शाहले राष्ट्रिय टिमले विदेशमा बस्ने नेपालीलाई गर्व गर्ने वातावरण बनाएको भन्दै आगामी खेलेमा टिमलाई साथ दिने बताए ।

माल्टाका एनआरएनए अध्यक्ष भुवन अर्यालले विदेशमा रहेका नेपाली खेलाडीहरुलाई टिममा समावेश गर्न र पलायन भएकालाई फर्काउने वातावरण बनाउन अपिल गरे ।

एनआरएनए आइसीसी सदस्य हेमन्त काफ्लेले एनआरएनए र खेलकुद जोडिनु सह्रानीय भएको बताए । ‘एउटा खेलाडीले मुलुक चिनाउने काम गर्छ । गरिब देश खेलाडीको देशका रुपमा चिनिन्छ । नेपाल पनि खेलबाट चिनिन थालेको छ । मुलुक चिनाउने अभियानमा एनआरएनएले हातेमालो गर्न पाउनु गौरवको कुरा हो । खेलाडीहरु क्यान पदाधिकारी बन्दा साच्चै नै क्रिकेटले फड्को लिएको लाग्यो । एनआरएनएभित्र क्रिकेटको क्रेज बढ्दो छ,’ उनले भने ।

एनआरएनए अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘खेलकुद विश्वमा औषधि हो । खेलकुदमा लगानी ठूलो लगानी हो । नेपालमा खेलाडी बन्ने रहर भएका खेलाडी जबर्जस्ती खेलाडी बनेर आफै व्यवस्थापन गर्नुपर्ने विडम्बना छ । यति हुँदा पनि विश्वकपमा जानुभएकोमा बधाई छ । ७० लाख नेपाली एकजुट हुने हो भने सस्टिनेबल पूर्वाधार बनाउन सक्छौं । हाम्रो हरेक खालको सहयोग रहन्छ,’ उनले भने ।