११ श्रावण २०८१, शुक्रबार
Follow Us

मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्र शाह

नेपालब्रिटेन संवाददाता
७ माघ २०८०, आईतवार ०६:१४

बारा । करिब दुई सातादेखि बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्ती पुगेका छन् । शाह परिवारका सदस्यसहित बस्ती पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी छन् ।

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेका थिए । पूर्व राजपरिवारभित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा मुसहर बस्ती पुगेका हुन् ।

बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्व राजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए। बस्तीमा एक घण्टा बिताएका उनिहरुले चिया समेत पिएका थिए ।

पूर्व राजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए ।

सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवा भोजनको व्यवस्थापन समेत गरिएको थियो । पूर्वराजाले दिवा भोजनका लागि बनाइएको परिकार बस्तीका नागरिकलाई खाना खान आग्रह गरेका थिए ।

पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुशी देखिन्थे । चुहिएको घरमा कष्टकर जीवन बिताइरहेका २० परिवारका लागि प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले पाँच करोड भन्दा बढीको लागतमा बस्ती नै निर्माण गरेर हस्तान्तरण गरेको हो ।

उक्त बस्तीमा २० वटा घर छ । सात धुर जमिनमा निर्माण भएको एउटा घर तीन कोठाको छ भने प्रत्येक घरलाई छुट्टै शौचालय र चापाकलको व्यवस्था गरिएको छ ।

ऐलानी जग्गामा बसोबास गर्दै आएका मुसहर समुदायले घर पाएपछि सोही बस्तीमा बस्दै आएका छन् । यसअघि पूर्व राजा गढीमाई मन्दिरमा पुगेर दर्शन गरेका थिए ।