२१ जेष्ठ २०८१, सोमबार
Follow Us

ज्ञानेन्द्र शाह कुशका मात्र राजा थिए: केपी ओली

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८०, आईतवार १२:५५

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको दाबी गरेका छन । उनले दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताएका छन् ।

ओलीले पूर्व राजा शाहले शनिबार दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका छन् । आज आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको उनले बताए ।

दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो । राजतन्त्र समाप्त गर्‍यो ।’ अध्यक्ष ओलीले राजाको जेठो छोरा राजा हुने व्यवस्था भए पनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको बताएका छन् ।

यद्यपि त्यसबेला सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको ओलीले बताए । उनले भने, ‘ज्ञानेन्द्र शाह राजा होइन’ उनले अगाडि भने, ‘बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन् ।’