१८ बैशाख २०८१, मंगलवार
Follow Us

लिभरपुलविरुद्ध आर्सनलको प्रभावशाली जीत

नेपालब्रिटेन संवाददाता
२२ माघ २०८०, सोमबार ०६:५८

लन्डन । प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलविरुद्ध आर्सनलले प्रभावशाली जीत निकालेको छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले लिभरपुललाई ३–१ गोलले स्तब्ध बनायो । आर्सनलका लागि बाकायो साका (१४), गाबरियल मार्टिनिल (६७) र लेनदारो तोरसेरढले अन्तिम चरणको अतिरिक्त समयमा गोल गरेका थिए ।

लिभरपुलले पनि पहिलो मध्यान्तरको अतिरक्त समयमा आत्मघाती गोल उपहार पाएको हो । खेलको ४७ मिनेटमा गबरियलले आत्मघाती गोल गरेका थिए । ८८ औं मिनेटमा इब्राहिम कोनाटे रातो कार्ड पाएका थिए । यो जीतसँगै लिभरपुलसँगको अंक दूरी आर्सनलले छोट्याएको छ । २३ खेल खेलेको लिभरपुलसँग ५१ अंक छ भने आर्सनलले ४९ अंक जोडेको छ ।

वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको जित
यसैगरी गएराति नै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए । यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

वोल्भ्ससँग चेल्सी स्तब्ध
यसैगरी वोल्भ्सले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । आइतबार राती सम्पन्न खेलमा वोल्भ्सले चेल्सीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । वोल्भ्सको जितमा माथेउस चुनाले ह्याट्रिक गरेका थिए भने एक गोल चेल्सीका एक्सेल डिसासीले आत्मघाती गोल गरेका थिए । त्यसैगरी चेल्सीका लागि कोल पाल्मर र थियागो सिल्भाले एक एक गोल गरेका थिए ।

यो जितपछि वोल्भ्सको २३ खेलमा ३२ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । त्यसैगरी चेल्सीको भने यो यस सिङमा १०औ हार हो । २३ खेलमा ३१ अंक रहेको चेल्सी लिगमा ११औं स्थानमा झरेको छ ।