१७ जेष्ठ २०८१, बिहीबार
Follow Us

सहकारी ठग्ने र सरकारी जग्गा हडप्ने भीआईपीलाई पाता कस्नुपर्छः गगन थापा

नेपालब्रिटेन संवाददाता
२६ माघ २०८०, शुक्रबार ११:५१

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारी, ठग र अराजकहरु भिआईपी हुन नसक्ने बताएका छन् ।

काँग्रेस काठमाण्डुले शुक्रबार गरेको कार्यक्रममा थापाले भीआईपीका नाममा भ्रष्टाचार र ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याइनुपर्ने बताए । जतिसुकै शक्तिशाली भए पनि भ्रष्ट र ठगहरुमाथि कारबाही हुनैपर्ने उनको भनाइ थियो ।

निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने भन्दै थापाले कानून साना ठूला सबैका लागि बराबार हुनुपर्नेमा जोड दिए । ‘दोषी जोसुकै होस् उम्कन हुन्न । निर्दोष जोसुकै होस् पर्न हुन्न ।

कानुन सबका लागि बराबर हुनुपर्छ,’ थापाले भने, ‘सर्वसाधारण नागरिकले सार्वजनिक सम्पत्ति लुटेर लियो भने उसलाई दण्ड हुन्छ । सहकारी ठगे दण्ड हुन्छ । सामान्य कर्मचारीले ढुकुटीबाट राज्यलाई भार लगायो भने दण्ड हुन्छ । ठग र भ्रष्टचारी भिआईपी हुँदैन ।’

थापाले जतिसुकै शक्तिशाली किन नहोस् सहकारी ठगी गर्ने, सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पार्ने र समाजमा अराजकता मच्चाउन खोज्नेहरुले जतिसुकै शक्तिशाली भए पनि भीआईपीको आवरणमा उन्मुक्ति पाउन नहुने बताए । गल्ती गरेमा शक्तिशाली भनिएकाहरुलाई पनि पाता कस्न सकिए मात्र विधिको शासन स्थापित हुने उनको भनाइ थियो ।