ब्रेकिङ न्युज

एकनारायण अर्याल पक्राउपछि सभामुख डिपी अर्याल ‘रेड जोन’ मा

काठमाडौं । मलेसिया जाने श्रमिकबाट अतिरिक्त बायोमेडिकल सेवा शुल्क लिई ठगी गरेको र त्यो रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेपछि यो प्रकरण पेचिलो बन्दै गएको छ ।

अनुसन्धानका क्रममा दुई पूर्व श्रममन्त्रीसहित १० जनालाई यसअघि नै पक्राउ गरिसकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव अर्याललाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

अर्याल श्रम मन्त्रालयको सचिव रहेका बेला गरेको निर्णयका आधारमा पक्राउ परेका हुन् । उनी पक्राउको जानकारी प्रहरीले बिहीबार काठमाडौं जिल्ला अदालतको इजलासलाई गराएको छ । अवैध रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा तथा आर्थिक लाभ लिने र दिलाउने कार्यमा संलग्न रहेको देखिएकाले अर्याललाई विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको सीआईबीको भनाइ छ । 

प्रहरीले यसअघि पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्वसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा पूर्वकानुन अधिकृत निर्मला गुरुङ र चार व्यवसायीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

रकम पठाउने प्रकरणमा दुई पूर्वश्रममन्त्री शरतसिंह भण्डारी र वर्तमान सभामुख डिपी अर्याल अनुसन्धानको राडारमा छन् । दुवैजना वर्तमान सरकारका कारण पक्राउ पर्नबाट जोगिएका हुन् । पूर्वश्रममन्त्री रायका पालामा २० करोड, कुँवरका पालामा साढे ६० करोड, भण्डारीको पालामा साढे ६६ करोड र अर्यालको पालामा दुईचोटि गरी २० करोड रुपैयाँ पठाइएको थियो । भण्डारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको ससुरा र डिपी अर्याल सभामुख भएकै कारण अनुसन्धानमा तानिएका छैनन् । तर जुनसुकै बेला पक्राउ पर्न सक्ने बताइएको छ ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयनका लागि गठित संयुक्त कार्य समूह (जेडब्लूजी) को १२ कात्तिक २०७५ मा भएको पहिलो बैठकले नै मलेसिया जाने श्रमिकलाई मेडिकल स्क्रिनिङ गरेबापत बायोमेडिकल सेवा शुल्क लिन पाउने नीतिगत निर्णय गरेको थियो । मलेसियाले अन्य स्रोत देशबाट श्रमिक लिँदा पनि समान बीएमएस शुल्क लिँदै आएको छ । 

नेपाल र मलेसियाबीचको श्रम समझदारीसँग जोडिएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएपछि मेडिकल स्क्रिनिङ रोकिएका कारण १५ असोजदेखि नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान बन्द भएको छ ।
 

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम