ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत विस्तार
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ । विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले ढोरपाटन उपत्यका क्षेत्रमा विद्युत विस्तार गरेको हो । पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौर, बोबाङ हुँदै ढोरपाटनसम्म लाइन पुर्याएको हो ।
बुर्तिबाङ बजारदेखि ३५ किलोमिटर लाइन तानेर विद्युत पुर्याएको विद्युत प्राधिकरण बागलुङका प्रमुख दिलिप मरासेनीले जानकारी दिनुभयो । ढोरपाटनमा उपत्यकासँगै नवी, भुजी, स्यालपाखे, छेन्तुङ लगायतका ठाउँमा विद्युत बिस्तार गरेको उहाँको भनाइ छ ।
विद्युत प्राधिकरणको १८ करोड रुपैयाँ लागतमा ११ के.भी. विद्युत लाइन बिस्तार भएको प्रमुख मरासेनीले बताउनुभयो । गत वर्ष प्राधिकरणले ढोरपाटनमा विस्तु पुर्याए पनि संचालन गर्न सकिएको थिएन । बर्खाको समयमा बाढी पहिरोले पोल बगाउने र तार चुडिएको हुँदा अहिले मर्मत गरेर विद्युत सञ्चालन गरिएको उहाँको भनाइ छ ।
प्रमुख मरासेनीले भन्नुभयो, ‘ढोरपाटनसम्म विद्युत अघिल्लो वर्ष नै पुर्याएका थियौँ । तर सञ्चालन भएको थिएन । यसपटक मर्मत गरेर घरघरमा विद्युत जडान हुन थालेको छ । अब नियमित रूपमा विद्युत सञ्चालन हुने छ । यहाँ स्थानीय हाइड्रोपावरमार्फत विद्युत सेवा संचालन हुँदै आएको थियो । जनसंख्या बढी विद्युत उत्पादन क्षमता कम हुँद केही समस्या परेको रहेछ । अब त्यो समस्या समाधान हुनेछ ।’
बुर्तिबाङ सब–स्टेशनको ११ के.भी. बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त लाइन सञ्चालनमा आएपछि बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज गरिएको उहाँको भनाइ छ । यससँगै उक्त क्षेत्रका उपभोक्तालाई राष्ट्रिय विद्युत प्रसारण प्रणालीबाट विद्युत आपूर्ति भएको छ ।
लाइन सञ्चालनमा आएसँगै उक्त क्षेत्रका उपभोक्ताले अब विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बागलुङ वितरण केन्द्रको बुर्तिबाङ नोलाइटमार्फत आवेदन फाराम भरी विद्युत जडानका लागि अनुरोध गर्न सक्ने मरासेनीले बताउनुभयो ।
लाइन सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रका उपभोक्ताले भोग्दै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताउनुभयो ।
पछिल्लो समय ढोरपाटनमा तीव्र रूपमा बस्ती बिस्तार हुँदै गएपछि विद्युत समस्या बढ्न थालेको भन्दै केन्द्रीय प्रसारण लाइन भएपछि अब समस्या नहुने उहाँको भनाइ छ ।

