१६ बैशाख २०८१, आईतवार
Follow Us

१ करोडको “श्रमिक राहत कोष” बनाउने मञ्चको निर्णय, परराष्ट्र मन्त्रालय पुर्वाग्राही भएको ठहर

नेपालब्रिटेन डट कम्
२८ माघ २०८०, आईतवार ०३:११

लण्डन । नेकपा एमालेको शुभचिन्तक संस्था प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीले परराष्ट्र मन्त्रालय प्रवासी नेपाली प्रति पुर्वाग्राही भएको निचोड निकालेको छ ।

प्रवासी नेपाली मञ्चको शनिवार मलेशियामा सम्पन्न १५ औं वैठकले प्रचलित नीति, नियम, विधि, विधान र प्रक्रियाको लोकतान्त्रिक माध्यमबाट चयन भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदको कार्यसमितिप्रति परराष्ट्र मन्त्रालयले देखिएको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै विनापूर्वाह संघको नविकरणको लागि माग गरेको हो ।

मञ्चका अध्यक्ष संजय थापाको अध्यक्षता बैठकमा विश्वभरका करिब दुई दर्जन देशका प्रतिनिधिहरुको उपस्थिति रहेको हो ।

एमाले नेता डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा राजधानी कोललम्पूर भएको बैठकले बैदेशिक रोजगारीको सिलसिलामा मलेशिया लगायत विभिन्न देशहरुमा कार्यरत श्रमिक नेपालीहरुको आकस्मिक रुपमा आईपर्ने समस्याहरुलाई सम्बोधन गर्ने उद्देश्यले एक करोड नेपाली रुपैयाँको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरेको छ ।

बैठकले युद्धग्रस्त युक्रेन र रुसको सेनामा विभिन्न कारणले भर्ना भई जीवन जोखिममा पर्न गएका नेपाली युवाहरुको जीवन रक्षाका लागि तत्काल आवश्यक व्यवस्था गर्न र नेपालमा उद्धार गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।

यस्तै, बैठकले प्रवासी नेपाली मञ्चले मध्यपूर्वमा ईजरायल–हमासबीच चलिरहेको नरसंहारकारी युद्धकाकारण मृत्युवरणमा पर्नुभएका नेपाली युवाहरुका पीडित परिवारलाई आर्थिक राहतस्वरुप जनही एकलाख चालिस हजार र ४ जना घायतेहरुलाई प्रतिव्यक्ति ३० हजार नेपाली रुपैयाँका दरले राहत प्रदान गरेको कुरालाई स्मरण गर्दै सोही युद्धमा परी हालसम्म वेपत्ता रहनुभएका विपिन जोशीको अविलम्ब खोजी गरी तत्काल उद्धार गर्न नेपाल सरकार समक्ष आग्रह गरेकोछ ।


बैठकका निर्णयको पूर्णपाठ

प्रेस विज्ञप्ति

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको पन्ध्रौं बैठक (भौतिक) मञ्चका अध्यक्ष संजय थापाको अध्यक्षता र नेपालबाट आउनुभएका अतिथि डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा फेब्रुवरी १०–११ गते मलेशियाको राजधानी कोललम्पूरमा भव्यरुपमा सम्पन्न भयो । बैठकले समसामयिक विषयहरुमा निम्नलिखित निर्णयहरु गरेको छ ।

१. बैठकले, बैदेशिक रोजगारीको सिलसिलामा मलेशिया लगायत विभिन्न देशहरुमा कार्यरत श्रमिक नेपालीहरुको आकस्मिक रुपमा आईपर्ने समस्याहरुलाई सम्बोधन गर्ने उद्देश्यले एक करोड नेपाली रुपैयाँको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरयो । उक्त कोष सञ्चालनको लागि आगामी एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्नको लागि कमलमणी गुरागाँई (कतार) को संयोजकत्वमा, भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेविया), शालिग्राम पन्त (बहरायन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेशिया) सदस्य रहने गरी समिति गठन गरेको छ ।

२. बैठकले, प्रवासी नेपालीहरुलाई भईपरी आउँदा चौबिसै घण्टा परामर्श सेवा दिने उद्देश्यले नेपालमा एक “हेल्प डेस्क” स्थापना गर्ने निर्णय गरेको छ । उक्त डेस्क सञ्चालनको लागि शिशिर नेपाल (अष्ट्रेलिया) को नेतृत्वमा प्रत्येक महादेशबाट एक÷एक जना रहने गरी सञ्चालन समिति गठन गर्ने निर्णय गरेको छ ।

३. बैठकले, प्रवासी नेपाली मञ्च मलेशियाले बैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा औद्योगिक दुर्घटना लगायत विविधकारणले मृत्युवरण गर्नुभएका श्रमिक नेपालीहरुको मृत शरिरलाई निशुल्क हवाई टिकटको व्यवस्था गरी नेपाल पठाउने, विविध कारणले अलपत्र परेका श्रमिक नेपालीहरुलाई निशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल उद्धार गरिदिने, उपचार खर्चको अभावले पिडामा परेका श्रमिक नेपालीहरुलाई औषधोपचारको व्यवस्था गरिदिने, श्रमसम्बन्धि बिबिध कानूनी अप्ठयारोमा पर्नुभएका श्रमिक नेपालीहरुलाई निशुल्क कानुनी सेवाको व्यवस्था गरिदिने लगायतका मानवीय कल्याणकारी सेवाहरु प्रदान गर्दै आएकोमा प्रवासी नेपाली मञ्च मलेशियालाई उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद दिएको छ, र यस कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन सफलताको लागि हार्दिक शुभकामना दिएको छ ।

४. बैठकले, प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको यस बैठकलाई भव्यरुपमा सम्पन्न गर्न अहोरात्र खटी महत्वपूर्ण सहयोग पुरयाउने प्रवासी नेपाली मञ्च मलेशियाका अध्यक्ष सहित प्रवासी नेपाली मञ्च मलेशियाको सिंगो टीम र प्रवासी नेपाली मञ्च पुर्वी एशिया कमिटीलाई विशेष धन्यवाद दिएको छ ।

५. बैठकले, नेपालको संबिधान २०७२ अनुसार गैरआवासीय नेपाली नागरिकता सम्बन्धि ऐन जारी भई नागरिकता वितरणका कामहरु भईरहेको सन्दर्भमा नेपाल सरकारले उक्त नागरिकताको वितरणको लागि आवश्यक नियम, कानून र कार्यविधिहरु बनाउन नसक्दा अस्पष्टता र अन्यौलता सृजना भई प्रवासी नेपालीहरुले पिडा भोगिरहेको, गैरआवासीय नेपाली नागरिकताबाहकले नेपाल जाँदा भिषा लिनुपर्ने स्थिती बनेको, र गैरआवासीय नेपाली नागरिकतामा गरिएको नागरिक हकको सिमाबन्दिले नेपालीको जन्मसिद्ध अधिकारलाई नै कुण्ठित गरेको हुँदा नेपाली नागरिकताको निरन्तरता हुने गरी गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

६. यो बैठक, प्रवासमा बसेका बालिगमताधिकार प्राप्त नेपालीहरुका लागि नेपालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मतदान गर्न नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कुटनीतिक नियोग मार्फत वा ईन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने, मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रमाणीत मतदाता नामावलीको आधारमा जुन देशमा बसोबास गरेको हो सोही देशको नेपाली कुटनीतिक नियोगमा प्रत्यक्ष वा विद्युतीय मतदान यन्त्रको माध्यमबाट मतदान गर्न पाउने गरी व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

७. यो बैठक, युद्धग्रस्त युक्रेन र रुसको सेनामा विभिन्न कारणले भर्ना भई जीवन जोखिममा पर्न गएका नेपाली युवाहरुको जीवन रक्षाका लागि तत्काल आवश्यक व्यवस्था गर्न र नेपालमा उद्धार गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

८. यो बैठक, प्रवासी नेपाली मञ्चले मध्यपूर्वमा ईजरायल–हमासबीच चलिरहेको नरसंहारकारी युद्धकाकारण मृत्युवरणमा पर्नुभएका नेपाली युवाहरुका पीडित परिवारलाई आर्थिक राहतस्वरुप जनही एकलाख चालिस हजार र ४ जना घायतेहरुलाई प्रतिव्यक्ति ३० हजार नेपाली रुपैयाँका दरले राहत प्रदान गरेको कुरालाई स्मरण गर्दै सोही युद्धमा परी हालसम्म वेपत्ता रहनुभएका विपिन जोशीको अविलम्ब खोजी गरी तत्काल उद्धार गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

९. यो बैठक, गैरआवासीय नेपाली संघको प्रचलित नीति, नियम, विधि, विधान र प्रक्रियाको लोकतान्त्रिक माध्यमबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदको निर्वाचन गत १९ अक्टोवर २०२३ मा सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित गरी त्यसले विधिपूर्वक काम गरिरहेकोमा, नेपाल सरकारले उक्त कार्यसमितिलाई नेपालको परराष्ट्र मन्त्रालयमा अद्यावधिक गरिनुपर्ने नेपाल सरकारको कानुनी व्यवस्था बमोजिम नविकरण नगरी विभिन्न वहानावाजीमा आलटाल गरिरहेकोले बिना कुनै पुर्वाग्रह अबिलम्व नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा नविकरण गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

१०. यो बैठक, नेपालको वर्तमान सरकार महंगी, भ्रष्टाचार, अनियमितता, तस्करी, हत्याहिंसा र कुशासनमा चुर्लुम्म डुबेको; नेपालको अर्थतन्त्रलाई दुरावस्थामा पुरयाई नेपाली युवाशक्तिलाई विदेशिन बाध्य बनाएको; नेपाललाई बिदेशी शक्तिहरुको क्रिडास्थल बनाई नेपालको सार्वभौमिकताको रक्षामा समेत खलल पुग्ने गरी गम्भिर परिस्थिती खडा गरेको; नेपालको विकास निर्माणका कामहरुलाई अलपत्र पारी देश बिकासको गतिलाई ठप्प बनाईएको परिस्थितीमा “समृद्ध नेपाल, सुखी नेपाली” को एउटै मात्र संकल्प बोकेका नेपाली जनताको भावनालाई कदर गर्दै सोही अनुरुप काम गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

प्रवासी नेपाली मञ्च, जिन्दावाद ।

धन्यबाद ।

संजय थापा
अध्यक्ष
प्रवासी नेपाली मञ्च
१० फेब्रुवरी २०२४